निर्वाचनमा पूर्व प्रहरी अधिकारीहरु : संगठित एउटाले जिते, माहोलमा आएकाहरु पराजित

डिसी नेपाल
१० मंसिर २०७९ ११:०१

काठमाडौं । करिब ३ दशकसम्म सुरक्षा निकायमा काम गरी उच्च पदमा पुगेर अवकाश पाएका ५ जना पूर्वप्रहरी अधिकारीहरु यसपटक निर्वाचनको मैदानमा उत्रिएकोमा एक जनाले मात्र सफलता पाएका छन् । अन्य ४ जनामध्ये २ जना दोस्रो स्थानमा रहन सके । अन्य २ जनाहरुमा भने एउटा तेस्रो भए र अर्का पाँचौं भए ।

निर्वाचनको परिणाम हेर्दा यी पूर्व प्रहरी अधिकारीहरुमध्ये लामो समयदेखि पार्टीमा संगठित उम्मेदवारले जितेका छन् भने पार्टी प्रवेश गरेको वा पार्टी गठन गरेको छोटो समयमै निर्वाचनमा होमिएकाहरु भने पराजित भएका छन् । जितेका राप्रपाका उम्मेदवार पूर्व आइजीपी ध्रुवबहादुर प्रधान २ दशकदेखि पार्टीमा संगठित छन् । अन्य ४ जना उम्मेदवारहरुको राजनैतिक करिअर भने बढीमा ५ वर्षको मात्रै छ ।

जितेका पूर्व डिआइजी प्रधान राप्रपाबाट नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा उम्मेदवार थिए । सक्रिय राजनीतिमा रहेर लामो समयदेखि चुनाब जित्ने प्रयास गरिरहेका उनले अन्ततः यसपटक सफलता पाएका छन् । उनले कांग्रेसका देवेन्द्रराज कँडेललाई १५ हजारभन्दा धेरै मतले पराजित गरे । प्रधानले ३४ हजार ७६४ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे ।

सुशासन पार्टी नेपालका अध्यक्षसमेत रहेका चर्चित पूर्वप्रहरी अधिकारी रमेश खरेलले काठमाडौं– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । एक वर्षअघि अघिल्लो मंसिरमा मात्रै नयाँ पार्टी घोषणा गरेर राजनीतिमा लागेका उनी निर्वाचनमा पाँचौं भए । उनले उम्मेदवारी दिएको क्षेत्रमा कांग्रेसबाट प्रकाशमान सिंहले जिते । उनी राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र एमालेका किरण पौडेलभन्दा पनि पछाडि रहे । खरेलले ३ हजार १२४ मत पाए ।

साढे दुई वर्षअघि प्रहरी महानिरीक्षक पदबाट अवकाश पाएका सर्वेन्द्र खनाल नेकपा (एमाले)बाट काठमाडौं ६ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । केही महिना अघि मात्र एमाले प्रवेश गरेका उनी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग हारे ।

पूर्वडिआइजी नवराज सिलवालले सक्रिय राजनीतिमा पाँच वर्ष बिताइसकेका छन् । ०७४ मा प्रहरी सेवाबाट राजीनामा दिएलगत्तै उनी एमालेमा आबद्ध भएर ललितपुर– १ बाट चुनाव पनि जिते । यो वर्ष पनि उनी सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा थिए तर उनले कांग्रेसका उदयशमशेर राणासँग हारे ।

सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ पनि राजनीतिमा उत्रिएका थिए । काठमाडौं– ४ मा उनी राप्रपाको उम्मेदवारका रूपमा प्रतिस्पर्धामा होमिएका थिए । यो क्षेत्रमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका गगन थापाले चुनाब जिते । एमालेका डा. राजन भट्टराई दोस्रो हुँदा श्रेष्ठ तेस्रो भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *