दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु भएको घोषणा

डिसी नेपाल
१६ कार्तिक २०८३ १७:३६

सुर्खेत। पटक–पटक मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन अब ३० दिन बाँकी रहँदा कर्णाली प्रदेशले आधिकारिक रूपमा काउन्टडाउन सुरु गरेको छ। आगामी मंसिर १६ गते उद्घाट्न गर्ने लक्ष्यसहित प्रतियोगिताको तयारी अघि बढाइएको हो।

सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाबाट काउन्टडाउन सुरु गर्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले निर्धारित मितिमै प्रतियोगिता सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले काउन्टडाउन सुरु हुनुले प्रतियोगिता आयोजना हुने सुनिश्चितताको सन्देश दिएको बताए।

‘हामीले मंसिर १६ गते दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने योजनाका साथ काम अगाडि बढाएका छौँ। आजबाट सुरु भएको काउन्टडाउनले पनि प्रतियोगिता हुन्छ भन्ने कुराको सुनिश्चितता गरेको छ,’ मुख्यमन्त्री शाहीले भने।

उनका अनुसार प्रतियोगिताको भौतिक पूर्वाधार निर्माण, खेलाडी व्यवस्थापन र अन्य आवश्यक तयारीका विषयमा संघीय सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश सरकारबीच समन्वय भइरहेको छ। स्थानीय तह तथा विभिन्न नगरपालिकासहित तीनै तहका सरकार संयुक्त रूपमा तयारीमा जुटेको उनले बताए।

मुख्यमन्त्री शाहीले छोटो समयमा तयारी गर्नुपर्ने भएकाले सबै काम अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गरे। तर चुनौतीलाई सामना गरेरै प्रतियोगिता सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

‘तयारीका क्रममा सबै कुरा एकदम राम्रो भयो भन्ने होइन। केही चुनौती छन्, तर चुनौतीको सामना गरेरै परिणाम निकाल्ने हो। हाम्रो उद्देश्य, लक्ष्य र कार्ययोजना स्पष्ट छन्,’ उनले भने।

उनले प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउन पत्रकार, नागरिक समाज, खेलप्रेमी र सरोकारवालालाई रचनात्मक सुझाव दिन आग्रह गरे। प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

३२ खेलमा ११ टोलीबीच प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहआयोजनामा हुने प्रतियोगिताका खेल कर्णाली प्रदेशका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक योजना छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताका अनुसार ३२ खेलमध्ये २८ खेल कर्णाली प्रदेशमा र चार खेल नेपालगञ्जमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। प्राविधिक समितिको थप छलफलपछि खेलस्थलमा आवश्यक हेरफेर हुन सक्नेछ।

प्रस्तावित खेलस्थलअनुसार सुर्खेतमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराँते, बास्केटबल, फुल कन्ट्याक्ट कराँते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोट्र्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो सञ्चालन गर्ने तयारी छ।

त्यस्तै, कालिकोटमा शारीरिक सुगठन, जाजरकोटमा जुडो, रुकुम पश्चिममा खो–खो, दैलेखमा आईटीएफ तेक्वान्दो र बुद्धिचाल, सल्यानमा टेबलटेनिस तथा जुम्लामा आर्चरी सञ्चालन गर्ने प्रस्ताव छ।

पौडी, भारोत्तोलन, टेनिस र सुटिङ नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक योजना बनाइएको छ। यी खेलसमेत कर्णालीमै सञ्चालन गर्न सकिने विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभागीय टोली तथा एनआरएनएको टोली पनि सहभागी हुनेछन्।

पहिलोपटक ई–स्पोट्र्स र पारा राष्ट्रिय खेलकुद

यसपटकको राष्ट्रिय खेलकुदमा ई–स्पोट्र्सलाई पनि समावेश गरिएको छ। त्यसैगरी दशौँ राष्ट्रिय खेलकुदसँगै पारा राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना तथा व्यवस्थापन गर्ने तयारी गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न निजी क्षेत्र, संघसंस्था र अन्य सरोकारवालालाई समेत सहभागी गराउने निर्णय गरेको छ।

प्रतियोगिताको व्यवस्थापनका लागि सार्वजनिक–निजी साझेदारीको अवधारणा अघि बढाउने र प्रायोजकसँग सहकार्य गर्ने निर्णयसमेत गरिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा खेलाडी र अफिसियल गरी करिब नौ हजारको सहभागिता रहने अपेक्षा गरिएको छ। उनीहरूको आवास, यातायात, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र अन्य व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

रंगशाला र व्यवस्थापन मुख्य चुनौती

कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्न निर्माण गरिएको वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला प्रमुख आयोजनास्थल हो। करिब १० हजार दर्शक क्षमताको रंगशालामा प्रतियोगिताको उद्घाटन तथा समापन समारोह आयोजना गर्ने तयारी छ।

तर प्रतियोगिता सुरु हुन एक महिना मात्र बाँकी रहँदा पूर्वाधारको अन्तिम व्यवस्थापन, खेलस्थलको तयारी, खेल सामग्री, खेलाडीको आवास तथा यातायात व्यवस्थापन आयोजकका लागि महत्वपूर्ण चुनौती बनेका छन्।

प्रदेश राजधानीबाहेक अन्य जिल्लामा पनि खेल सञ्चालन हुने भएकाले त्यहाँका खेलस्थलको प्राविधिक अवस्था, आवश्यक संरचना र व्यवस्थापकीय तयारी पूरा गर्नुपर्नेछ।

यसअघि विभिन्न कारणले पटक–पटक मिति सर्दै आएको प्रतियोगिता यसपटक निर्धारित समयमै सम्पन्न गर्ने आयोजकको प्रतिबद्धता छ। काउन्टडाउन सुरु भएसँगै बाँकी रहेका तयारीका कामलाई तीव्रता दिनुपर्ने दबाब पनि बढेको छ।

प्रचारप्रसारलाई तीव्रता दिइने

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताको आधिकारिक काउन्टडाउन सुरु भएसँगै प्रचारप्रसारका गतिविधिलाई पनि तीव्रता दिइने बताए। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीलाई थप उत्साहपूर्ण बनाउन काउन्टडाउन सुरु गरिएको उनको भनाइ छ।

‘आजदेखि आधिकारिक रूपमा ३० दिनको काउन्टडाउन सुरु गरेका छौँ। अब दिनगन्तीसँगै प्रतियोगिताप्रति उत्साह पनि बढ्दै जाने अपेक्षा गरेका छौँ,’ मन्त्री पोखरेलले भने।

उनका अनुसार प्रतियोगिताका लागि मस्कट, गीत र प्रचारात्मक भिडियो तयार गरिएको छ। ती सामग्री क्रमशः सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। प्रतियोगिताबारे आमनागरिकलाई जानकारी गराउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताए।

मन्त्री पोखरेलले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित सबै निकायको समन्वय आवश्यक रहेको उल्लेख गर्दै अहिलेसम्म प्राप्त सहयोग र उत्साहप्रति धन्यवाद व्यक्त गरे। कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताले यहाँको खेल पूर्वाधार विकाससँगै पर्यटन, होटल व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर प्रतियोगितालाई निर्धारित मितिमा सम्पन्न गर्न अबको ३० दिनमा पूर्वाधारदेखि खेलाडी व्यवस्थापनसम्मका बाँकी काम पूरा गर्नु आयोजकका लागि मुख्य परीक्षा हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *