अहिलेकै सरकारले बढुवा गर्नेगरी नेपाल प्रहरीमा एआइजी बढुवा प्रयास सुरु

डिसी नेपाल
१२ मंसिर २०७९ १०:२९

काठमाडौं । निर्वाचन सकिए लगत्तै नेपाल प्रहरीमा रिक्त रहेका एआइजी पदमा बढुवा प्रयास शुरु भएको छ । नयाँ सरकार नबनी यही सरकारबाट बढुवा गराउन नेपाल प्रहरीभित्र सो प्रयास शुरु भएको हो ।

हाल नेपाल प्रहरीमा एआइजीका चार पद रिक्त छन् । नयाँ सरकार बन्न समय लाग्ने भएकाले अहिलेकै सरकारले रिक्त पदमा बढुवा गर्नुपर्ने प्रहरी महानीरिक्षकलाई बढुवा आकांक्षीहरुले दबाब दिन थालेका छन् ।

निर्वाचनको अन्तिम परिणाम आउँदा गठबन्धनबीचकै दलहरु मिलेर सरकार बन्ने/नबन्ने भन्ने विषयमा एकिन नहँुदा प्रहरी महानीरिक्षकलाई दबाब दिन थालेका हुन् । लामो समय अवधि एआइजी पद रिक्त नराखी बढुवा गर्नुपर्ने आकांक्षीहरुको दावी छ ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने एआइजी बढुवाका लागि मन्त्रिपरिषद बैठक बस्नु पर्ने र अहिले सबै मन्त्रीहरु बाहिर रहेकाले केही दिन त्यस्तो संभावना नभएको बताए ।

स्रोतका अनुसार बढुवाका लागि आन्तरिक तयारी भइसकेको छ । तर सरकार नै काम चलाउ भएकाले यही सरकारबाट एआइजी बढुवा गर्न कठिन हुने देखिएको गृहमन्त्रालय स्रोतले जनाएको छ । रिक्त पदमा बढुवाका लागि एक दर्जन डिआइजी प्रतिस्पर्धामा छन् ।

सिनियर टिमबाट तीन जना छन् । जसमा नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहन आचार्य छन् । तर उनीहरुलाई बढुवा गर्दा तीन महिना मात्रै एआइजी हुने भएकाले उनीहरुको बढुवा हुन कठिन छ । नयाँ ब्याचका डिआइजीहरु कार्यक्षमतामा पनि अब्बल र पहुँचमा पनि अगाडि भएकाले उनीहरु नै बढुवामा पर्नेछन् ।

अर्कोतर्फ चार पदका लागि दर्जन धेरै प्रतिस्पर्धामा भएकाले पनि टक्कर चर्काे छ । डिआइजीमा ज्येष्ठताको वरियताअनुसार वसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, रामदत्त जोशी, सन्दीप भण्डारी, किरण राणा, दुर्गा सिंहलगायत प्रतिस्पर्धामा छन् । हालको ३० वर्षे सेवाहद कायमै रहेमा यही टोलीबाट एक जना चैतमा आइजिपी हुने भएकाले अहिलेको बढुवामा व्यापक चलखेल हुने बताइएको छ ।

निर्वाचन अघि विश्वराज पोखरेल, अरुण विसी, रविन्द्र धानुक मुकुन्द आचार्य अवकाश पाएका छन् । अहिले रिक्त एआईजीमा बढुवा हुने डीआईजीमध्येबाट नेपाल प्रहरीले चैतमा आईजीपी पाउनेछन् । चैतमा अहिलेका आइजीपी धिरजप्रताप सिंह लगायतका उनका व्याचीहरुले अवकाश पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *