घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ

डिसी नेपाल
१८ मंसिर २०७९ १३:२३
456
Shares

धनगढी। बैतडीकी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली कञ्चनपुरबाट पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट उनलाई आइतबार पक्राउ गरिएको हो।

प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी भोलाबहादुर रावलका अनुसार कोली आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई आजै जिल्ला प्रहरी कार्यालय बैतडी बुझाइने सूचना अधिकारी रावलले बताए।

मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका–४ की माया बुधबार शीवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन्। उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन्।

मृतकका आफन्तले सशस्त्र प्रहरी जवान कोलीको नाममा किटानी जाहेरी दिएका थिए। फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थियो। २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *