रास्वपा नेता यादवलाई सोधियो स्पष्टीकरण

डिसी नेपाल
२७ साउन २०८३ २१:१०

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले प्रवास नेपाली सम्पर्क विभागका सदस्य रविन्द्र प्रसाद यादवलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

एक नागरिकप्रति अभद्र गालीगलौज, अश्लील तथा अमर्यादित व्यवहार गरेको आरोपमा रौतहट जिल्ला समितिमा परेको उजुरीका आधारमा प्रदेश समितिले यादवलाई स्पष्टीकरण सोधेको हो। गरुडा नगरपालिका घर भएका यादव आगामी स्थानीय तह निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने दाबेदारी गर्दै आएका छन्।

मधेश प्रदेश कार्यालयले साउन २६ गते यादवलाई पठाएको पत्रमा रौतहट जिल्ला समितिबाट प्रमाणसहित उजुरी प्राप्त भएको उल्लेख छ। प्रदेश महामन्त्री मनिषकुमार साहद्वारा हस्ताक्षरित पत्रमा पार्टीको नीति, सिद्धान्त, विधान तथा आचारसंहिताअनुसार प्रत्येक सदस्यबाट मर्यादित र अनुशासित व्यवहार अपेक्षा गरिने जनाइएको छ।

यादवमाथि लगाइएको आरोप पुष्टि भएमा त्यसले पार्टीको प्रतिष्ठा तथा संगठनात्मक अनुशासनमा गम्भीर असर पार्न सक्ने भन्दै प्रदेश समितिले घटनाको वास्तविकता स्पष्ट पार्न २४ घण्टाभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ।

यादवले आफ्नो संलग्नता वा असंलग्नताबारे स्पष्ट हुने गरी स्पष्टीकरण पेस गर्नुपर्नेछ। तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा वा स्पष्टीकरण सन्तोषजनक नदेखिएमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी प्रदेश समितिले दिएको छ।

त्यसका लागि सम्बन्धित आयोग तथा केन्द्रीय सचिवालयसमक्ष आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ।

यसैबीच, छानबिनको प्रक्रिया पूरा नभएसम्म यादवलाई सार्वजनिक अभिव्यक्ति नदिन तथा कुनै पनि संगठनात्मक गतिविधिमा सहभागी नहुन प्रदेश समितिले निर्देशन दिएको छ।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै गरुडा नगरपालिकाको मेयर पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आएका यादवमाथि पार्टीकै प्रदेश समितिले स्पष्टीकरण मागेपछि उनको राजनीतिक दाबेदारीसमेत थप चर्चामा आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *