यी हुन् कर्णाली समृद्धिका सडकमार्गहरू

डिसी नेपाल
१ पुष २०७९ १३:४७

सुर्खेत । कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउनका लागि आधा दर्जन सडकहरू निर्माण भइरहेको छ । अधिकांश सडकहरू अहिले काम चालु छ । कर्णाली करिडोर, भेरी करिडोर, लम्बिनी-रारा राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गका साथै मदनभण्डारी राजमार्गसमेत कर्णालीमा चालु अवस्थामा रहेका छन् । भेरी करिडोर, कर्णाली करिडोर चीनसँगको सिमानासँग जोड्ने सडक मध्यमा पर्दछन् ।

कर्णाली करिडोरको काम कस्तो छ ?

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र नेपालको हुम्ला जिल्लालाई जोड्नेछ । अहिलेसम्म राष्ट्रिय सडक सञ्जाललाई नजोडेको हुम्ला जिल्ला मात्र हैन । यो राजमार्गले हुम्लाको चीनको सिमाना जोडिएको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म पुग्नेछ ।

कर्णाली करिडोर नामाकरण गरी ट्याक खोल्न थालेको २१ वर्ष भएको छ । कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुदैँ हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ ।

आशाको केन्द्र बिन्दुका बीच रहेको कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १९६ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्सा(हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीव्र रुपमा भइरहेको छ ।

विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई गत सालको असार ३१ गते हस्तान्तरण गरेको थियो ।

कर्णाली करिडोरअन्तर्गतको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये १९६ किलोमिटर सडक निर्माण भएर सवारीसाधन चल्न थालेका छन् । बाँकी सडकखण्ड निमर्णाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए । हिल्सा–हुम्ला सडक आयोजनाले जिम्मा लिएको १४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण भइसकेको छ । कर्णाली करिडोरअन्तर्गतको पाँच किलोमिटर सडक खोलेपछि आयोजनाको काम सम्पन्न हुने बताएको छ ।

बजार क्षेत्र बढे

कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो ।

कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौँ ठाउँहरू बजार रुपमा विस्तार भएका छन् । कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारीसाधन चल्न थालेका छन् । अहिले यो सडकखण्डका दर्जनौं ठाउँमा बजारका रुपमा विकास भएका छन् ।

कालीकोटको खुलालु, लालिघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौर लगाएतका क्षेत्रहरु अहिले बजारमा रुपमा विकसित भएका छन् । यी बजारहरुमा अहिले व्यापारी केन्द्रका रुपमा स्थापित हुन थालेको कालीकोट रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताए ।

कर्णाली करिडोरमा सवारीसाधन चल्न थालेपछि आसपासका मानिसहरू अहिले तरकारी खेती गर्नेहरुको संख्यामा वृद्धि हुँदै गएको छ । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

गाउँ-गाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएकाले तरकारी खेती गर्न थालेको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताए । कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको बस्तुहरु हिमाली जिल्लामा र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरैजसो नागरिक कृषि पेशामा संग्लन रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

जुम्लाको उत्पादित खाद्यान्न देशभित्र मात्र होइन विदेशमा पुग्ने गरेको छ । जुम्ला घर अर्गानिक एन्ड सुपर फुड्स प्रालिमार्फत स्थानीयस्तरमा उत्पादन भएका समान विदेशमा समेत लिएर बिक्री हुने गरेको छ । अघिल्लो वर्ष मात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्यान्न क्यानडा पुगेको कम्पनीका सञ्चालक राज शाहीले जानकारी दिए ।

कम्पनीले यस वर्ष १ टन सिमीको दाल र १ टन मासको दाल जापानका बजारमा पनि पठाएको छ । १० किलो स्याउको चाना पनि जापान गइसकेको शाहीले जानकारी दिए । गत वर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात भएको थियो । स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाइरहेको छ । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ । गत वर्ष पनि ४० क्विन्टल जुम्ली मार्सी चामल अमेरिका पठाइएको शाहीले जनाए ।

मार्सी चामल, ओखर, सिमी, स्याउको चाना, चिनो र कागुनो ती देशहरूमा गइरहेको हो । खलंगास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाइरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बंगलादेश पठाएको थियो । बाहिरबाट आउने खाद्यान्नका कारण रैथाने बाली उत्पादनमा कमी आइरहेको स्थानीय किसान जीवनबहादुर बुढाले बताए।

कर्णाली करिडोरअन्तर्गत ९ वटा पुल बन्दै

कर्णाली करिडोरमा नौवटा पक्की पुल निर्माण हुने भएका छन् । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १३ वटा पक्की पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु खोला, सान्नीघाट खोला र फुगाड खोला पक्की पुल निर्माण हुने भएको हो । बाजुराको जुड्डी खोला, बुढीगाड खोला, गल्फगाड खोला र कवाडी खोला पक्की पुल निर्माण हुने भएको हो ।

हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हिल्सा–सिमकोट सडक आयोजना हुम्लाले जनाएको छ । पक्की पुलका लागि ठेक्का प्रक्रियाअगाडि बढेको सडक आयोजना हुम्लाका इन्जिनियर वीरेन्द्र यादवले बताए । कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

कालीकोटमा पर्ने ४२ किलो मिटर सडक फराकिलो बनाउन थालिएको छ । कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको सडक फराकिलो पार्ने काम सुरु भएको हो । सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरुले काम सुरु गरेको आयोजना प्रमुख यादवले जानकारी दिए ।

कर्णाली करिडोर साघुँरो हुँदा यातायात सञ्चालनमा समस्या भएका कारणले फराकिलो पार्न लागिएको प्रमुख यादवको भनाइ छ । करिडोरअन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा एक अर्ब ५ करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग

पुष्पलाल (मध्यपहाडी लोकमार्ग) राजमार्गअन्तर्गत रुकुम पश्चिम ,जाजरकोट र दैलेख जिल्लालाइ जोड्ने गर्दछ । रुकुम पश्चिम ६५ किलोमिटर सडक पुरै काम सकिएको छ । रुकुम पूर्वबाट रुकुम पश्चिम जोड्दै जाजरकोटबाट दैलेख जोड्ने सडकमा यो पर्दछ । जाजरकोटको ८३ किलोमिटर सडकेमध्य निर्माण हुन अब २५ किलोमिटर मात्र बाँकी छ । दैलेखको १२५ किलोमिटर मध्य ४० किलोमिटर सडक निर्माण गर्न बाँकी रहेको इन्जिनियर हुमनाथ पौडेलले बताए । यो राजमार्गमा ६५ किलोमिटर सडक निर्माण हुँन बाँकी रहेको इन्जिनियर पौडेलले बताए । सडकको २ अर्ब दायित्व रहेको छ भने झण्डै ९ अर्ब बजेट खर्च भएको भइसकेको छ ।

भेरी करिडोर

भेरी करिडोरको सुर्खेत ,सल्यान , जाजरकोट हुुँदै डोल्पा जोड्ने सडकअन्तर्गत पर्छ । यो सडकले भारत र चीनको सिमानासँग पनि जोड्ने गर्दछ । डोल्पाको अन्तिम बिन्दु मरिम्ला ,तिन्जे रहेको छ । यो सडक खण्डको जाजरकोट सदरमुकाम सम्मा पिच गरिएको छ भने पुर्वी जाजरकोट हुँदै डोल्पा जोड्ने सडकको लागि पिचको काम चालु अवस्था रहेको छ । तोकिएको समय भन्दा निकै ढिलो गरी काम भइरहेको भेरी करिडोरको अहिले स्तरोन्नतीको काम चलिरहेको छ ।

भेरी नदीमा पुलका कामहरु चलिरहेका छन् । १३ पुलमध्ये ७ पुल निर्माण भएका छन् भने बाँकी पुलहरु निर्माण गर्ने क्रम्मा रहेका छन् । यो विवरण जाजरकोट सदरमुकामबाट डोल्पाको सदरमुकाम दुनैसम्मको मात्र हो । त्योभन्दा माथिल्लो भागमा चीनको सिमानाबाट सडक निर्माण भएर उपल्लो डोल्पाका मध्य भागमा ल्याइएको छ ।

भेरी करिडोरको सडकले चीन र भारतलाई सडक सञ्जालले जोडेपछि डोल्पा र तिब्बतको सिमाना मरिम्ला र भारतको रूपैडियाबीच सिधा सम्पर्क जोडिनेछ । करिडोरको सडक जाजरकोट, रूकुम र डोल्पाको भूगोललाई पहाडी फिडर रोडको अवधारणाअनुरूप निर्माण भएको छ । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले बजार र उचित मूल्य पाउने भएको छ ।

रूकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरू भएको थियो । एक सय १८ किलोमिटर दुरी रहेको जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरीको सुपानीसम्म १०३ किलोमिटर सडकको काम नेपाली सेनाले सम्पन्न गरेको छ । सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी सडक निर्माण स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको थियो ।

भारतको रूपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका जोडिने सडकलाई भेरी करिडोर नामकरण भएको छ । छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रूपमा रहेको छ । भेरी करिडोरको नक्सा भेरी नदीको किनारै किनार पर्दछ । भेरी नदी उद्गमस्थल धौलागिरी हिमालको पश्चिम भाग डोल्पाको छार्का क्षेत्र पर्दछ ।

भेरी नदी डोल्पाबाट जाजरकोट पश्चिम रूकुम र सल्यानको सीमा हुँदै सुर्खेतको चुरे क्षेत्रबाट बग्दै पश्चिम पुगेर कर्णालीमा मिसिन्छ । सडक नहुँदा दैनिक उपभोग्य सामग्रीदेखि लिएर विकास निर्माणका सामग्रीसमेत खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता सडक पुगेपछि खच्चडप्रतिको निर्भरता घटेको छ । डोल्पामा आजभोलि चामल, तेल, साबुन, लत्ता कपडालगायतका दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री सस्तिएको छ । सडक नहुँदा पहिला दैनिक उपभोग्य सामग्री लिन रूकुमको चौरजहारी, राडीज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लु बगरलगायतका बजारमा पुग्नुपर्ने बाध्यता हटेको छ ।

कर्णालीको पनि विकट जिल्ला डोल्पा जैविक विविधताको भण्डारको रूपमा चिनिने र क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो हिमाली जिल्ला हो । दुनैबाट मरिम्लासम्मको ९० किलोमिटर रहेको छ । जाजरकोटको सदरमुकामबाट दुनै सम्मा ११८ किलोमिटर रहेको छ । भेरी करिडोर सबैको लम्वाइ ३१७ किलोमिटर रहेको सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए । कच्ची कटान हुन बाँकी दुनैबाट धोसम्म रहेको छ । १० अर्ब यसको कुल खर्च रहेको छ ।

लुम्विनी रारा सडक नाम दिइएको सडकको काम समेत जाजरकोट खण्डमा भइरहेको छ । जाजरकोट र जुम्लाको सिमानाबाट सुरुङ निर्माण गरेर सडक बनेमा कर्णाली राजमार्गभन्दा जुम्ला नेपालगन्ज ७ घण्टा छिटो पुग्ने गर्दछ । अहिले जाजरकोटबाट सुरु गरिएको छ । लम्बिनी दाङ, सल्यान, रुकुम पश्चिम हुँदै जाजरकोट जुम्ला र रारा यो सडकको रेखांकन रहेको छ ।

मदन भण्डारी राजमार्ग

मध्यपहाडी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको बीचमा बन्दै गरेको मदन भण्डारी राजमार्गले १४ जिल्लालाई छुन्छ । यो राजमार्गले नेपालको पूर्वदेखि पश्चिमसम्मका चुरे आसपासका क्षेत्रलाई समेटेको छ ।

सुर्खेतमा मदन भण्डारी राजमार्ग धुलियाविट–भेडाबारी–बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम काम जारी रहेको छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सुधार–विस्तार गर्न लागिएको छ । कालोपत्रे गर्न लागिएको सडक दुई लेनको बनाइँदै छ । अहिले औषत चार मिटर चौडाइ रहेको सडकलाई स्तरोन्नति गरेर नौ मिटर बनाइनेछ ।

राष्ट्रिय राजमार्गको मापदण्डअनुसार नै अघि बढाइएको कार्यालयले जनाएको छ । स्तरोन्नति भइरहेको सडक खण्डले पूर्वी सुर्खेतका मुख्य व्यापारिक केन्द्रहरूलाई जोेड्छ । यस क्षेत्रमा वीरेन्द्रनगर, लेकवेशी र गुर्भाकोट नगरपालिकाका भू–भाग पर्दछन् । राजमार्ग अन्तर्गत ३५ किलोमिटर क्षेत्र पूर्वी सुर्खेतमा रहेको छ । यो खण्डमा नयाँ सडक निर्माण गर्नुपर्ने छैन । पहिल्यै बनेका सडकलाई जोडेर स्तरोन्नति गरिने भएको हो ।

सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार ६ सय रूपैयाँ लागत अनुमान गरिएको छ । २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । वि।सं। २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नेगरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ ।

राजमार्ग अन्तर्गत सुर्खेत खण्डमा पर्ने सडकको कामलाई गति दिन वीरेन्द्रनगरमा कार्यालय राखिएको एक वर्ष मात्र भयो । धुलियाविट–भेडाबारी सडकको वि.सं. २०३६ सालमै ट्रयाक खोलिएको थियो । सडक निर्माण थालेको चार दशकपछि मदन भण्डारी राजमार्ग नामाकरण गरी सुधारको काम अघि बढेको हो । सडक स्तरोन्नतिको काम सम्पन्न भए यहाँ बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *