अमेरिकी सैन्य अखडामा काम गर्ने नेपालीहरु ठगिएको अमेरिकी विश्वविद्यालयको रिपोर्ट

डिसी नेपाल
६ पुष २०७९ १०:१४

वासिंगटन डिसी। अफगानिस्तनका अमेरिकी सैनिक कार्यालयहरुमा काम गर्दा मारिएका वा घाइते भएका अधिकांश नेपालीले कुनै क्षतिपूर्ति नपाएको एउटा रिपोर्ट अमेरिकी विश्वविद्यालयले सार्वजानिक भएको छ।

अमेरिकाको ब्राउन युनिभर्सिटीको वाट्सन इन्टिच्युटले कष्ट अफ वार परियोजना अन्तर्गत गरिएको अध्ययनमा अमेरिकी सरकारको नियम हुँदा हुँदै पनि सैनिक ठेकेदारहरुले सो नियमलाई उल्लंघन गर्दै क्षतिपूर्ति नदिएको निचोड निकालेको छ।

डिसेम्बर २० तारिक मंगलबार सार्वजानिक गरिएको सो रिपोर्टमा दशौ हजारको संख्यामा कम विकसित देशका नागरिकहरुले अमेरिकाको रक्षा मन्त्रालयअन्तर्गतका अफगानिस्तानका सैन्य ब्यारेकहरुमा काम गरेको र तिनले घाइते र अंगभंग हुँदा वा मारिँदा पनि कुनै क्षतिपूर्ति नपाएको उल्लेख छ।

अफगानिस्तानमा तालिवान र अन्य आतंकवादी संगठनहरुसँग लडाई गर्दा सन् २०१२ नेपाल, फिलिपिन्स र अन्य कम विकसित देशहरुबाट झण्डै १ लाखको संख्यामा कामदारहरु अमेरिकी सैन्य अखडाका सुरक्षालगायत विभिन्न काममा लगाइएका थिए।

रिपोर्टमा भनिएको छ, ‘उनीहरु अमेरिका र अफगानिस्तानका नभएकाले उनीहरुलाई तेस्रो देशका नागरिक भन्ने गरिएको र उनीहरु अमेरिकी सैन्य अखडाका क्याफ्टेरियामा काम गर्ने, सरसफाइको काम गर्ने र धेरैजसो सुरक्षा गार्डका रुपमा काम गर्नेहरु थिए।’

अमेरिकी सैनिकहरुले नेपाली सुरक्षा गार्डहरुलाई त आफ्नो सुरक्षा कवच(फ्ल्याक ज्याकेट) र आक्रमणकारीहरुका लागि चारो भन्ने गरेको कुरा पनि रिपोर्टमा उल्लेख गरिएको छ।

युद्धको समयमा अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेका झण्डै ४ हजार मारिएकामध्ये २ हजारजति त नेपाललगायत कम विकसित देशका थिए। त्यसैगरी हजारौं कामदारहरु गम्भीररुपले घाइते भएका थिए।

रिपोर्टका अनुसार, अमेरिकी रक्षामन्त्रालय पेन्टागनका कन्ट्याक्टर (मेनपावर सप्लाइ गर्ने ठेकेदारहरु)ले अमेरिकाको डिफेन्स बेस एक्ट १९४० अनुसार, सबै कामदारका लागि विमा गरिदिएको हुनुपर्ने थियो र सो विमाले नै घाइतेलाई उपचार र राहत तथा मृतक कामदारका परिवारलाई क्षतिपूर्ति तिर्नुपर्दथ्यो।

नोआ कबर्न र पिटर गिलले गरेको सो रिसर्चमा लेखकहरुले झण्डै २०० जना कामदारहरुसँग अन्तर्वार्ता गरी तयार गरेका थिए। कवर्न र गिलको रिपोर्टलाई सार्वजानिक गर्दै एनविसी न्यूजले उल्लेख गरेको समाचारमा अमेरिकाका सैन्य बेसहरुमा नेपाली कामदारहरु खटाइनुको कारण उनीहरु सस्तो दरका श्रमिक भएको पनि उल्लेख छ।

गिलले एनवीसी न्यूजसँग भनेका छन्, ‘उनीहरुका लागि सुरक्षाको आधार भनेको डिफेन्स बेस एक्ट हो तर त्यसले पनि काम गरेको पाइएन।’ रिपोर्टका अनुसार, नेपालकी गोमा कुंबरले आफ्ना पति यमबहादुर अमेरिकी वेस अफगानिस्तानमा भएको आत्मधाती हमलामा गुमाइन्।

सन् २०१२ को यो घटनामा परेका यमबहादुरकी पत्नी गोमाले २ लाख ५० हजार अमेरिकी डलर विमावापतको रकम पाउनुपर्ने अमेरिकी कानून थियो तर गोमाले केवल ४८ हजार डलरमात्र पाएकी छिन्। तर, गोमाले यसबारे अमेरिकाको श्रम मन्त्रालयको विशेष अदालतमा सबै रकम दिलाइपाऊं भनी उजुरी दर्ता गरेकी छिन्।

कामदारहरुलाई विमाको रकम दिन कन्ट्याक्टरहरुलाई अमेरिकी सरकारले करोडौं रकम दिएको भए पनि ठेकेदारहरुले सो रकम कामदारहरुलाई नदिएको पाइएको र यसबारेको सूचना फ्रिडम अफ इन्फरमेशन एक्टमार्फत शोधकर्ताहरुले लिँदा अमेरिकी कामदारहरुले पाउनेभन्दा आधामात्र रकम कम विकसितदेशका कामदारहरुले पाएको पत्ता लागेको पनि रिपोर्टमा उल्लेख गरिएको छ।

ठेकेदारहरुले विमासम्बन्धी गम्भीर नियम उल्लंघन गरेको पाइदा पनि उनीहरुमाथि ज्यादै कममात्र सजाय हुने खुलासा पनि रिपोर्ट गरिदिएको छ।

पूरै क्षतिपूर्तिको माग गरिएका लगभग ५० वटा केसहरु ती पनि अधिकांश नेपालीहरु भएको र यी केसहरुलाई एकजना वासिन्टनमा कार्यरत वकिल म्याथ्यु ह्यान्डलेले लडिरहेको पाइएको पनि रिपोर्टमा उल्लेख गरिएको छ।

फइल तस्वीर 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *