मन्दिर निर्माणमा नै लोभ गरेपछि …

डिसी नेपाल
१४ पुष २०७९ २३:०१
144
Shares

काठमाडौं । मन्दिर आस्थाको केन्द्रका रूपमा परिचित छ । मन्दिरमा भगवान्को बास हुन्छ भन्दै धेरैले श्रद्धाका साथ पवित्रस्थलका रूपमा लिन्छन् । आम मानिसले मन्दिरका नाममा गलत काम गर्छन् भनेर विश्वास नै गर्दैनन् । तर त्यही मन्दिर निर्माणका क्रममा बदमासी भयो भनेर विश्वास गर्नुपर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले भने मन्दिर निर्माणमा नै आर्थिक हिनामिना भएको देखाएको छ । सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो रहेको रामजानकी मन्दिर निर्माणमा वास्तविक कार्यभन्दा बढी कार्य भएको भनी गलत विवरण पेस गरेर रकम हिनामिना गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा मन्दिर निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरेर फिल्डमा वास्तविकरूपमा भएको कामभन्दा बढी मूल्याङ्कन गरेर भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

सो कार्यमा संलग्न भएको नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर रायविरुद्ध रु ९७ हजार आठ सय ४० बराबरको भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ । आयोगले तत्कालीन इञ्जिनियर रामविनय प्रसाद यादव, सबइञ्जिनियर उमेशकुमार दास, मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमहेश्वर साह कलवार र कोषाध्यक्ष रिनाकुमारीविरुद्ध समान रु ९७ हजार आठ सय ४० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

त्यस्तै अनुमति पाएकोभन्दा बढी नदी उत्खनन गरी भ्रष्टाचार गरेको अभियोगमा झापाको दमक नगरपालिकका वातावरण अधिकृतलगायतविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

झापाको दमक नगरपालिका र मिक्लाजुङको सिमानामा रहेको मावा खोला उत्खनन गर्दा मापदण्डविपरीत नदी उत्खनन गरेर प्रकृतिको दोहन गरेको पाइएको छ । अनधिकृतरूपमा सहयोग गरेको अभियोगमा दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी, मिक्लाजुङ गाउँपालिका मोरङका असिस्टेन्ट सबइञ्जिनियर विवेक कार्कीविरुद्ध आयोगले रु तीन करोड ४४ लाख ११ हजार दुई सय ८८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले ठेकेदार किशन उण्ड दृष्टि विल्डर्सका सञ्चालक पशुपति उप्रेती र उहाँका प्रतिनिधि निशम कार्कीविरुद्ध पनि समान रु तीन करोड ४४ लाख ११ हजार दुई सय ८८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *