टेक्सास लुट काण्ड : छानविन समिति गठन, सेवाग्राहीको काम रोकियो

डिसी नेपाल
२१ पुष २०७९ ०:०६

वासिंगटन डिसी । अमेरिकाको टेक्सास राज्यमा लुटिएको भनिएको नेपाली दूतावासको २ लाखभन्दा बढी अमेरिकी डलर रकमसम्बन्धी प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले छानविन समिति गठन गरेका छन् ।

दूतावासका चार्ज डि एफियर सहसचिव कुमार खरेलको संयोजकत्वमा दूतावासमा कार्यरत सैनिक अधिकृतसहितको छानविन समिति गठन भएको छ । समितिले बयानका लागि सम्बन्धित कर्मचारीहरुलाई प्रश्नहरु लिखितरुपमै सोधिसकेको छ ।

समाचारअनुसार, यो समितिले कति दिनसम्ममा प्रतिबेदन दिने भन्ने कुरा भने यकिन भएको छैन । दूतावासका प्रबक्ता एवं समितिका संयोजक कुमार खरेल आन्तरिक समिति भएकाले सदस्यहरुको नाम सार्वजानिक गर्नु उपयुक्त नहुने डिसी नेपाललाई बताए ।

टेक्सासका तीनवटा शहरहरुमा नेपाली दूतावासले कन्सुलर सेवा दिनका लागि डिसेम्बर १५ देखि २० तारिकसम्म सेवा शिविरहरु आयोजना गरेको थियो । यी शिविरहरुमा पासपोर्ट नवीकरण, एनआरएन कार्डलगायत दूतावासले दिने अन्य सेवाहरु उपलब्ध गराएको थियो ।

यसवापत ती शहरमा बस्ने सेवाग्राही नेपालहरुले तिरेको राज्यको राजश्व रकम दुई लाख अमेरिकी डलरभन्दा बढी उठेको थियो । सो रकम र आवश्यक कागजातसहित दूतावासका कर्मचारीको टोली ह्युष्टन एयरपोर्टबाट वासिंगटन डिसी फर्किने कार्यक्रम तय भएको थियो । एयरपोर्ट जानुभन्दा अघि खाना खान ह्युस्टनस्थित एक नेपाली रेष्टुरांमा पसेका बेला दूतावासका कर्मचारीले प्रयोग गरेको स्थानीय व्यापारी ज्ञानेश्वर श्रेष्ठको गाडी तोडफोड भई रकम लुटिएको थियो ।

मध्यान्ह १२ बजेर ३ मिनेटजतिको समयमा घटेको यो घटनापछि लामो समयसम्म दूतावासमा के गर्ने भन्ने अन्योल देखिएको थियो । तर, परराष्ट मन्त्रालयले आन्तरिक छानविन गर्न निर्देशन पठाएपछि राजदूत खत्रीले छानविन समिति नै गठन गरेका छन् । टेक्सासमा सेवा शिविरहरु संचालनका लागि दूतावासका कर्मचारीहरु उत्तम घिमिरे, राधारमण दुवे र टेक्सासमा एक स्थानीय स्टाफ खटिएका थिए । यी सबै छानविनको दायरामा परेका छन् ।

समाचारअनुसार, ह्युस्टन प्रहरीले यो घटनाबारे प्रारम्भिक प्रतिवदेन पनि दूतावासलाई दिएको छ । प्रहरीको अनुसन्धान रिपोर्टमा के छ भन्नेबारे स्पष्ट नभए पनि अमेरिकी प्रहरीको प्रारम्भिक छानविन पूरा नहुन्जेल सो प्रकरणमा संलग्न दूतावासका कर्मचारीहरुलाई ह्युस्टनमै बस्न भनिएको थियो ।

प्रहरीले प्रारमिभक प्रतिवेदन दिएपछि दूतावासका कर्मचारीहरु वासिंगटन डिसी फर्किएका छन् । त्यत्रो ठूलो धनराशी बोकेर हिडेका कर्मचारीले सामान्य सतर्कता नअपनाउंदा दूतावासले ठूलो मूल्य चुकाउनु परेको छ । यो लापरवाहीमा संलग्न कर्मचारीहरुमाथि कस्तो कारवाही हुने हो छानविनपछि थाहा होला तर राज्यको राजश्वको झण्डै पौने ३ करोड रकम डुबेको छ भने सो रकम तिर्ने सेवाग्राहीको काम ठप्प भएको छ ।

टेक्सासमा जजस्ले रकम तिरेर दूतावासको सेवा लिएका थिए उनीहरुले त्यसवापतको सेवा पाएका छैनन् । उनीहरुको पासपोर्ट नवीकरण वा एनआरएन कार्ड प्राप्ति वा नवीकरणको कुनै पनि काम शुरु भएकै छैन । कतिपय सेवाग्राहीहरु विद्यार्थी भएको, कतिपय अवैधानिकरुपमा अमेरिकामा बसोवास गरिरहेका र कतिपयको अध्यागमन अदालतमा मुद्धा चलिरहेकोले उनीहरुले बैंकिंङ्ग च्यानल प्रयोग नगरी नगद रकम तिरेर मनी अर्डर बनाएका छन् । ती मनी अर्डरहरुको रकम फिर्ता पाउने सम्भावन ज्यादै कम हुन्छ ।

यस्तो अवस्थामा राज्यका कर्मचारीले जिम्मा लिइसकेको रकम फेरि सेवाग्राहीलाई तिराउने काम भयो भने त्यसले झन् ठूलो समस्या ल्याउने निश्चित छ । अमेरिकावासी नेपालीहरुमा दूतावासको कामप्रति असन्तुष्टि पनि यो प्रकरणपछि चुलिएको छ ।

यो प्रकरणमा राजश्वको रकम जम्मा नभई काम हुने कुरा भएन र रकम जम्मा हुनुपूर्व नै लुटिएको अवस्था छ । कर्मचारीहरुबाट असुल उपर गर्न पनि सजिलो छैन किनकि रकम सानो छैन ।

प्रबक्ता खरेलका अनुसार, यो प्रकरणसम्बन्धी छानविनको काम धमाधम भइरहेको छ । उनले डिसी नेपालसंग भने, ‘सेवाग्राहीको काम अघि बढाउनेतर्फ पनि प्रक्रिया अघि बढेको छ । माथिल्लो निकायको निर्देशन पर्खेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *