विपद् पूर्वतयारी र प्रतिकार्यका लागि ड्रोन तालिम

डिसी नेपाल
२२ पुष २०७९ २२:५६

सुर्खेत । प्राकृतिक प्रकोपले निम्तिने विभिन्न किसिमका विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र (ड्रोन) को प्रयोगसम्बन्धी तालिम दिइएको छ । आज वीरेन्द्रनगरमा भएको तालिममा विपद्सँग सम्बन्धित काम गर्ने कर्मचारीलाई सहभागी गराइएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको आयोजना तथा युरोपियन युनियनको आर्थिक, यूएनडिपी, युएन, ओमन र स्याक नेपालको प्राविधिक सहयोगमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले तालिमको आयोजना गरेको हो ।

विभिन्न मन्त्रालयका विपद् शाखा प्रमुुख, सुरक्षा निकायका अधिकारी, आपत्कालीन कार्यसञ्चालन केन्द्रका अधिकारी, नागरिक उड्डयन प्राविधिकीकरण, जल तथा मौसम विज्ञान कार्यालय, भूकम्प मापन केन्द्र, नापी कार्यालय र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो ।

विपद्पछिको जोखिम कम गर्न प्रविधि आवश्यक रहेको सुर्खेतका प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । कर्णालीका सबै जिल्लासहित सुर्खेत पनि विपद्को उच्च जोखिममा रहेको उनले बताए । उनले भने, “विपद्को प्रतिकार्यका लागि प्रविधिको प्रयोग अतिआवश्यक हुन्छ, हवाई यन्त्रको प्रयोगमार्फत विपद्को समयमा उद्धार छिटोछरितो हुुन्छ । त्यसैले प्रविधिको प्रयोग आवश्यक छ ।”

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव दिनेशसागर भुसालले विपद्को उद्धार तथा राहतमा प्रविधिको प्रयोग गरिने बताए । उनले भने, “विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि हवाई यन्त्र ड्रोनको प्रयोग गर्नका लागि १५ जनशक्ति तयार भएको छ । थप जनशक्ति तयार पारी प्रविधिमार्फत उद्धारको कार्य हुुन्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *