प्रधानमन्त्रीसँग वादी समुदायका अगुवा टोलीको भेट

डिसी नेपाल
२३ पुष २०७९ १२:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन्।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा ज्ञापन पत्र दिन आएका वादी समुदायका अगुवाहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रीपरिषदबाट निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने बताए।

“म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनर्स्थापनाका लागि निर्णय गरेको स्मरण छ । इतिहासमैं पहिलोपटक राज्यले औपचारिक रुपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनु पर्छ।” उनले भने, “वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं।”

वादी समुदायका प्रतिनिधिहरुले प्रधानमन्त्री प्रचण्डलाई कार्यकाल सफलताको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री प्रचण्डले नै वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिकरुपमा सम्बोधन गरेकोमा धन्यवाद दिँदै उनीहरुले अहिलेको कार्यकालमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *