लालबहादुर विश्वकर्माको न्यायका लागि इटहरीवासी संघर्ष सडकदेखि उच्च अदालतसम्म

डिसी नेपाल
२४ पुष २०७९ ११:३१

विराटनगर। आफ्नै साहुबाट ठगीमा परी कारागार चलान भएका सुनसरी इटहरी-२० तरहराका गोपाल भनिने लालबहादुर विकलाई न्याय माग्दै इटहरी चौकमा स्थानीय र आफन्तले सडक प्रदर्शन गर्दै आएका छन्।

लालबहादुर विक निर्दोष रहेको भन्दै जिल्ला अदालतको फैसलाविरुद्ध उनीहरू सडकमा उत्रिएका हुन्। न्याय नपाए अदालत जाने नेपालको कानुनलाई समेत बेवास्ता गरी उनीहरू सडकमा आउन बाध्य थिए। कारण थियो, जुन निकायले न्याय दिने आश गरिएको हुन्छ, त्यही निकायले नै अन्यायमा पारेपछि सडक संर्घषमा उत्रिए।

गत बिहीबार सडकमा उनीहरूले लालबहादुर निर्दोष हुन्, पीडितलाई न्याय देऊ लगायतका नारा लगाए। प्रदर्शनमा पीडित लालबहादुरका ७० वर्षीय बुबा आमा, उनकी श्रीमती समेत सहभागी थिए।

पीडित लालबहादुरका बुबा हर्कबहादुर विश्वकर्माले छोरामाथिको अन्यायले आफू मर्नु न बाँच्नु भएको पीडा सुनाए। उनले जसरी भए पनि आफ्नो छोरालाई कारागारबाट छुटाउन अनुरोध गरे।

‘घरमा हातमुख जोर्न समेत नसक्ने अवस्था छ। कहाँबाट ल्याँउ त्यत्रो तीन करोड ?’ हर्क बहादुरले भने, ‘सबैले अन्याय भएको जान्दाजान्दै आफ्नो निर्दोष छोरा जेल गएको छ। छुटाइदिनु होला।’

सहभागी सामाजिक अभियन्ता गोमा तामाङले लालबहादुरको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने तर्क राखिन्। उनले न्यायालयले पीडितलाई न्याय दिनुको सट्टा अन्याय गरेको टिप्पणी गरिन्।

‘कारागारमा रहेका विश्वकर्मालाई न्याय उच्च अदालतले दिनपर्छ,’ उनले भनिन्, ‘उजुरीवालाले समेत निर्दोष भएको दाबी गरिरहँदा न्यायाधीशले पीडितको उठिबास हुने गरी फैसला गरेको छ। अब न्याय माग्न कहाँ जाने? ‘ प्रदर्शनमा सहभागी धेरैले अदालतले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने माग राखेका थिए।

विश्वकर्मालाई सवा तीन करोडको बिगो

गोपाल भनिने लालबहादुर विश्वकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० ब्रह्मपुरमा बस्छन्। गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसेर नेपाल आएका थिए। आएलगत्तै विवाह गरे।

उनले विदेश नजाने भन्दै चिनेजानेकै पसलमा काम गर्न थाले। लालबहादुरको घर र उनले काम गर्ने पसल करिब ३ किलोमिटर दूरीमा पर्छ। मासिक साढे २० हजार पारिश्रमिक लिएर काम गरे।

उनले काम गर्ने सुन पसलका सञ्चालक हुन्, इटहरीका दीपक विश्वकर्मा गजमेर। दीपककाे सिंहदेवी ज्वेलर्सबाहेक मनी ट्रान्सफर, सपिङ सेन्टर पनि थियो। तर, योबाहेक पनि दीपकको अर्को ठूलो आर्थिक अवैध धन्दा थियो।

उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे। उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए।

दीपकले सञ्चालन गरेको सुन पसलमा उनका बुबा कृष्ण, भाइ कमल, दिदी सीता पनि काम गर्थिन्। दीपकले उनीहरू सबैलाई त्यसै गरी पास बुक बनाएर पैसा उठाउने कार्यमा संलग्न गराएका थिए।

दीपकका बाबु कृष्ण विश्वकर्मा पढ्न लेख्न जान्दैनथे। पसलमा छोराछोरी नभएको समयमा कृष्णले पैसा बुझ्ने र पास बुकमा लेख्ने काम लालबहादुरलाई लगाउने गर्थे।

समय बित्दै गयो। यसैगरी दीपकले करोडौँ रकम उठाए। तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन्। जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन्।

आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे। पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गर्‍यो। सोही क्रममा लालबहादुर पनि पक्राउ परे। आरोपीमध्ये कमल विश्वकर्मा भने अहिले पनि फरार छन्। कमल दीपकका भाइ हुन्।

पक्राउ पर्दासम्म लालबहादुरले आफूमाथि के भइरहेको छ भन्ने सामान्य थाहा पनि थिएन। त्यसपछि पक्राउ परेका चारै जना विरुद्ध इजाजत बिना वित्तीय कारोबार गरेको मुद्दा चल्यो।

उनीहरू विरुद्ध जाहेरी दिएका २२१ जना र प्रहरी प्रतिवेदनमा उल्लेख भएका ५४ जना गरी जम्मा २७५ जनाको रकम हिनामिना गरेको आरोप लागेको थियो। ३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । उनलाई लागेको थियो कि आफूले गल्ती गरेको छैन र सजाए पनि भोग्न पर्दैन।

तर, उनले सोचेजस्तो भएन। एक वर्षअघि गत २०७८ सालमा पुसमा उक्त मुद्दाको फैसला आयो। जसले उनको सातो उडायो । परिवारसमेत आलाप विलाप गर्न थाले। अदालतले उनलाई पनि दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनायो।

उक्त फैसलामा दीपक विश्वकर्माले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०३ को उपदफा १ को ‘क’ सम्बन्धी कसुर अर्थात् इजाजत नलिई बैंक तथा वित्तीय कारोबार गरेको आरोपमा सोही ऐनको दफा १०४ को उपदफा १ को देहाय ‘क’ बमोजिम तीन वर्ष कैद र १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ जरिवाना सुनाइयो। त्यसको आधा रकम मुख्य दोषी ठहरिएका दीपकलाई पर्‍याे।

त्यस्तै अन्य प्रतिवादी सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा गजमेर, र गोपाल भनिने लालबहादुर विश्वकर्मालाई सोही दफा अनुसार जनही १ वर्ष ६ महिना कैद र नौ करोड ४२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ दामासाहीले जरिबानाको सजाय गर्नु भन्ने फैसला भयो। उक्त रकम तीन जनामा भाग लगाउँदा ३ करोड १४ लाख ११ हजार रुपैयाँ पर्न आउँछ।

तर, उनी विरुद्ध जाहेरी दिनेहरूले लालबहादुरको यसमा संलग्नता नरहेको र आफूहरूको पैसा उनले हिनामिना नगरेको बकपत्र गरेका छन्। त्यस्तै सञ्चालकहरूले समेत लालबहादुरको यसमा संलग्नता नरहेको बयान दिएका छन्। जाहेरी दिने र मुख्य आरोपीले समेत लालबहादुरको संलग्नता नरहेको बताएका छन्।

प्रहरीले अनुसन्धानको क्रममा पसलमा रहेका बेला पास बुकमा लेख्नेबाहेक लालबहादुरको अन्य संलग्नता पुष्टि गर्न सकेको छैन। तर, जिल्ला अदालत सुनसरीका न्यायाधीश निर्मला योङयाले गरेको फैसलामा लालबहादुरले करिब सवा तीन करोड रुपैयाँ तिर्नुपर्ने उल्लेख छ।

यसले लालबहादुरको परिवारमा ठूलो बज्रपात पारेको छ। उनी एक महिनादेखि जिल्ला कारागार कार्यालय झुम्कामा कैद भुक्तान गरिरहेका छन्। उनले आफू अन्यायमा परेको भन्दै जिल्ला अदालतविरुद्ध उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन्। उक्त रिट निवेदन २६ पुसमा पेसी चढ्दै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *