प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड

डिसी नेपाल
२६ पुष २०७९ २२:२६

विराटनगर । प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन् । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उनिहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको विषय सरकारको उच्च प्राथमिकतामा भएको बताए । सबै दलसँगको सहमतिमा चाँडै साझा नाम राख्ने गरी प्रयास थाल्ने उनको भनाइ छ । “अघिल्लो कार्यकालमा प्रदेशको नामकरण गर्न नसक्दा चौतर्फी आलोचना भएको छ”, उनले भने, “सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता छ ।”

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले विगतको सरकारले प्रदेशको नाम राख्न नसक्दा विभिन्न आरोप खेप्नुपरेको उल्लेख गर्दै नामकरण गर्न सरकारलाई आफ्नो पार्टीले साथ दिने बताए । चाँडै नामकरणका लागि पहल गर्न पनि उनले प्रदेश सरकारसित आग्रह गरे ।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना भएको बताए । प्रदेशसभाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वका समयमै नामकरण टुङ्गो लगाउने आङ्बोले बताए ।

यस्तै बिनाविभागीय मन्त्री निर्मला लिम्कूले पहिचानसहितको नामकरण हुनुपर्ने बताए । नेकपा (एमाले)का राम रानाले नामकरण प्रदेश सरकारको पहिलो काम भएको बताए । अघिल्लो कार्यकालमा सात प्रदेशमध्ये छवटाले नाम पाए पनि प्रदेश १ ले नामकरण गर्न सकेको थिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *