राजदूत खत्रीको वेवास्ताप्रति टेक्सासका नेपाली संघसंस्था रुष्ट, लापरवाहीप्रति खेद प्रकट

डिसी नेपाल
२९ पुष २०७९ १०:३८

वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले वेवास्ता गरेको भन्दै अमेरिकाको टेक्सासमा कार्यरत ५ वटा नेपाली संघसंस्थाले एक विज्ञप्ति जारी गरी नेपालीहरुलाई अनावश्यक दुख र झण्झट दिने काम गरेकोमा खेद प्रकट गरेका छन्।

टेक्सासमा बसोबास गरिरहेका झण्डै १ हजारजति नेपालीहरुले पासपोर्ट नवीकरण र एनआरएन कार्ड बनाउन तिरेको राजश्वको रकम हराएको भन्दै उनीहरुको काम नगरिदिएकोमा ती संघ संस्थाहरुले आक्रोश व्यक्त गरेका छन्।

उनीहरुले दूतावासका कर्मचारहरुले तारन्तार फोन गरेर, इमेल पठाएर सर्वसाधारण सेवाग्राहीले तिरेको राजश्वको रकमको मनी अर्डर र क्यासियर चेक रद्द गरेर अर्को पठाउनु नत्र काम हुँदैन भन्दै चेतावनी दिने काम गरेकोमा आपत्ति प्रकट गरेका छन्। दूतावासको यो कार्यलाई उनीहरुले ‘गैरकानूनी र अमानवीय’ भन्दै विरोध गरेका छन्।

अमेरिकाका स्थित नेपाली दूतवाासका तर्फबाट डिसेम्बर १८ र १९ मा टेक्सासमा कन्सुलर सेवा दिन घुम्ती शिविर राखिएको र पासपोर्ट नवीकरण एवं एनआरएन कार्ड बनाएवापत २ लाखभन्दा बढी अमेरिकी डलर अर्थात पौने तीन करोडजति नेपाली रुपैयाँ उठेको थियो।

सो रकम डिसेम्बर २२ मा ह्युस्टनबाट हराएको भन्दै दूतावासले एक विज्ञप्ति जारी गरेको थियो। दूतावासले पैसा उठाएर सेवाग्राहीलाई रसिद दिइसकेपछि फेरि सो रकम हरायो भन्दै तिनै सेवाग्राहीलाई दुख दिने काम गरेको छ।

कतिपयले त काम नरोकियोस भनेर फेरि राजश्व तिरेका छन्। यो प्रकरणमा एकहजारजति नेपाली पीडित बनेपछि टेक्सासमा भएका नेपाली संघसंस्थाका प्रमुखहरुले राजदूत खत्रीसँग जुम प्रविधिबाटै भए पनि आफ्ना मागहरु राखी छलफल गर्न प्रयास गरेका थिए।

तर, खत्रीले उनीहरुसंग कुरा गर्न चाहेनन्। यही कुरा विज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ, ‘राजदूतसहितको बैठक गरौं भन्ने हाम्रो मागलाई वेवास्ता गरिएको छ। राजदूतसित हामीमध्येका कसैको पनि सम्पर्क हुन सकेको छैन र हामीले हाम्रा समस्या राख्न पाएका छैनौं।’

उनीहरुले डबल राजश्व लिएकोमा सो रकम फिर्ता हुनुपर्ने माग गरेका छन्। तोकिएको प्रक्रिया पूरा गरी रसीद हातमा लिएर बसेका सेवाग्राहीका पासपोर्ट यथाशीघै विना झण्झट उपलब्ध गराउन पनि उनीहरुले विज्ञप्तिमार्फत माग गरेका छन्।

यसरी विज्ञप्ति प्रकाशित गर्नेहरुमा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, नेपलिज एशोसिएसन अफ ह्युष्टनका अध्यक्ष रविन श्रेष्ठ, सिर्जनशील नेपाली समाज, ह्युस्टनका अध्यक्ष कृष्ण न्यौपाने र गैरआवासीय नेपाली संघ, टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा छन्।

दूतावासले सेवा शिविर चलाउदा यी संस्थाहरुले स्वयंसेवकका रुपमा काम गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। मनी अर्डर बनाउंदा नै भुक्तानी पाउनेको नाम नलेखे पनि हुन्छ भन्दै दूतावासका कर्मचारीहरुले भनेको प्रसंग उल्लेख गर्दै उनीहरुले बैंकमा रकम जम्मा नगरी यति धेरै मनी अर्डर असुरक्षित तवरले किन बोकेर हिडेको? भन्दै दूतावासको कार्यप्रति आशंकासमेत व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,‘जिम्मेवार ढंगले काम गर्न नसक्ने जो कोहीलाई पनि जनताको करबाट तलब खाएर बस्न सुहाउँदैन। हामी नेपाली दूतावासका यी गैर जिम्मेवारीपूर्ण र चरम दर्जाको लापरवाहीपूर्ण काम कार्वाहीहरु प्रति खेद प्रकट गर्दै यसलाई तत्काल सुधार गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *