झापामा फस्टाउँदै जडीबुटी खेती

60
Shares

झापा। अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले।

यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उनले बताए। मेचीनगर-१४ दुहागढीमा विसं २०७० मा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन्।

कुलायन नेचुरल हर्बल उद्योग आफैँले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ। कालो हर्दी, युकिलिप्टस (मसला), तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौलीलगायतका जडीबुटीजन्य वनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको छ।

उद्योगले उत्पादन गरेको सुगन्धित तेल सिधै युरोप र अमेरिका निर्यात हुन्छ। गत वर्ष सरकारले विदेशी मुद्रा भित्र्याउन योगदान पुर्‍याएवापत उद्योगलाई सम्मान गरेको थियो। उद्योग आफैँले सुरुमा विद्यालयको खाली जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको थियो।

उद्योगले स्थानीय कृषकहरूलाई समेत आम्दानी लिन हौसला बढाएपछि मेचीनगरको वडा नंं १०, १३, १४ र १५ मा धानखेत मासेर किसानले जडीबुटीका बिरुवा रोप्न थालेका हुन्।

“थोरै जमिनमा थोरै लगानी गर्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि सुरुमा दुई बिघामा पचौली रोपेँ”, अर्जुनधाराका डम्बर चौधरीले भने, “दुहागढीको हर्बल उद्योगले पचौलीको घाँस किनिदिन्छ। आयस्ता राम्रो हुन थालेकाले खेती विस्तार गरेर पाँच बिघामा लगाएको छु।”

सामुदायिक वनमा खेती विस्तार

झापाको अर्जुनधाराकै जुकेखाडी सामुदायिक वन र भद्रपुरको कमलधाप सामुदायिक वनले जडीबुटी खेतीमा लगानी गरेका छन्। बीस बिघाबाट सुरु भएको यस्तो खेती अहिले पाँच सय बिघामा विस्तार भइसकेको छ।

जुकेखाडीले १० बिघा र कमलधापले एक सय बिघा वन क्षेत्रमा लेमनग्रासको खेती गरेको छ। लेमनग्रासको घाँस काटेर उद्योगमा बिक्री गरिँदै आएको छ। जसलाई मेसिनमा पेलेर सुगन्धित तेल उत्पादन गरिन्छ।

मेचीनगर-१४ कै बाल सुबोधिनी माध्यमिक विद्यालयको बाँझो रहेको २० बिघा जग्गा वार्षिक रु एक लाख ५० हजार बुझाउने शर्तबन्धमा ४० वर्षका लागि उद्योगले भाडामा लिएर ११ वर्षदेखि खेती गर्दै आएको छ।

जहाँ मसाला, तेजपत्ता, कालो हर्दी, भेटिबर, नगरमोथे, सिट्रोनेलालगायतका जडीबुटीका रुख र घाँसको जङगल हुर्किसकेको छ। अरु एक सय बिघा जग्गा खेती विस्तारका लागि खोजी गरिरहेको उद्योगका सञ्चालक भरत बस्नेतले बताए।

“सुरुमा हामीले जग्गा लिजमा लिएर जडीबुटी रोपण गर्‍यौं, अहिले किसानहरू आफैं म पनि खेती लगाउँछु भन्दै आउन थाल्नुभएको छ”, उद्योगी बस्नेतले भने, “किसानहरूले जति धेरै उत्पादन गरेता पनि किनिदिने ग्यारेन्टी उद्योगका तर्फबाट गरिदिएका छौँ। खेतीका लागि प्राविधिक र बिरुवा सहयोगसमेत गरिरहेका छौँ।”

नौ वर्षमा झापाका ६० जनाभन्दा बढी स्थानीय किसान र आधा दर्जन सामुदायिक वन जडीबुटी खेती अभियानमा जोडिएका र पाँच सय बिघाभन्दा बढी जग्गामा यसको खेती फस्टाइरहेको उनले जानकारी दिनुए।

महँगो अगरउडको खेतीमा लगानी

हर्बल उद्योगले संसारकै महँगो मानिएको अगरउड (सुगन्धित काठ)को व्यावसायिक उत्पादन गर्ने महत्वाकाङ्क्षी परियोजना सुरु गरेको छ। सञ्चालक बस्नेतका अनुसार हाल उद्योगले दुई हजारवटा सेतोचन्दन (सुगन्धित काठ)को बिरुवा रोपेर हुर्काइरहेको छ। यसले उत्पादन दिन १५ वर्ष कुर्नुपर्छ।

“सेतो चन्दन र अगरउडको उत्पादन गर्न सकियो भने महँगोमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ भनेर हामीले इच्छुक किसानलाई प्रोत्साहित गरिरहेका छौँ”, उद्योगी बस्नेतले भने।

उद्योगले किसानलाई बिक्री वितरण गर्नका लागि हाल आफ्नो नर्सरीमा एक लाख अगरउडका बिरुवा हुर्काएको छ। किसानलाई ती बिरुवा दिएर उत्पादन खरिद गर्ने उद्योगले योजना बनाएको छ।

उनका अनुसार भविष्यमा उद्योग आफैंले अगरउडको तेल निकाल्ने अलग्गै कारखाना स्थापना गर्ने सोच बनाएको छ। अगरउडको तेल अन्तर्राष्ट्रिय बजारमा रु तीन लाख प्रतिलिटरका दरले अहिले बिक्री भइरहेको छ।

उद्योगमा हाल विभिन्न जडीबुटी पेलेर तेल उत्पादन हुँदै आएको छ। छवटा भेसल भएको उद्योगले आठ घण्टामा एउटा भेसलमा जडीबुटीजन्य काँचो घाँस पाँच सय केजी र सुक्खा घाँस तीन सय केजी प्रशोधन गर्दछ।

“सुगन्धित साबुन र अरु केही हर्बल सामान उत्पादकले अलिअलि खरिद गरेर लैजानुहुन्छ”, उद्योगी बस्नेत भन्छन्, “हामीले उत्पादन गरेको अधिकांश तेल युरोप र अमेरिका निर्यात हुन्छ । विदेशी मुद्रा भित्रिने भएकाले मुलुकलाई पनि फाइदा निकै पुगेको छ।”

उद्योगले वार्षिक तीन हजार लिटर मसालाको तेल, दुई हजार पाँच सय लिटर लेमनग्रासको तेल, दुई हजार पाँच सय लिटर सिट्रोनेलाको तेल, एक हजार दुई सय लिटर पामरोजाको तेल र आठ सय केजी पचौलीको तेल उत्पादन गर्दै आएको उहाँले जानकारी दिए। कारखाना र नर्सरीमा गरेर उद्योगमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि जडीबुटी उद्योगको विकास र विस्तार अनिवार्य रहेको धारणा व्यक्त गर्छन् ग्लोबल एग्रो एण्ड नर्सरी प्रालिका सञ्चालक दीपक नेपाल। उनले यो उद्योगअन्तर्गत हाल पाँच बिघामा जडीबुटीको नर्सरी व्यवसाय सुरु गरेका छन्।

बिरुवा सहजै किन्न पाइने र उत्पादनले अरु बालीभन्दा तेब्बर आम्दानी दिने भएकाले झापामा जडीबुटीको खेतीतर्फ मध्यम किसान आकर्षित हुँदै गएको उनको भनाइ छ। पाँच बिघाभन्दा धेरै जग्गा भएका किसानले अन्नबाली लगाउन जनशक्ति र लागत धेरै पर्ने भएकाले जडीबुटी खेतीमा धेरै फाइदा देखेको उनी बताउँछन्।

वातावरणलाई हरियाली राख्ने, जीवनस्तरमा सुधार आउने र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्नका लागि टेवा पुर्‍याउने क्षेत्र जडीबुटी भएको जनाउँदै उनले यसमा सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले प्रोत्साहन दिनुपर्ने सुझाव दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *