विमान दुर्घटनाः ६० जनाको शव परिवारलाई बुझाइयो, दुई जनाको शव अझै भेटिएन

डिसी नेपाल
९ माघ २०७९ १९:४८
192
Shares

काठमाडौं। पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ।

“आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”, यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन्।

हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ। यस्तै, घटनास्थलबाट सङ्कलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अङ्गको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ।

विमान दुर्घटनाको कठिन परिस्थितिमा मृतकको परिवार तथा आफन्तलाई प्रक्रिया पूरा नहुञ्जेलसम्म धैर्यधारण गरी सहयोग गरिदिनुहुन एयरलाइन्सले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.