राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौदीले गरे उम्मेदवारी दर्ता

डिसी नेपाल
११ माघ २०७९ १४:३९

काठमाडौं। राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा (एमाले)का कुमार दसौदीले उम्मेदवारी दर्ता गराएका छन्। माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो ।

सोही अनुसार आज नेकपा (एमाले)का दसौदीले उम्मेदवारी दर्ता गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान गरेका छन्।

नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए। उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन गर्न लागिएको हो।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ दुई सय १८ मतदाता छन्।

माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ।

प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन्।

यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *