सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनतर्फका ६ वटै नाका खोल्ने प्रतिबद्धता
काठमाडौं। सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छेन् सोङले शिष्टाचार भेट गरेका छन्।
सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ। भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।
यही माघ ५ गते घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए। चिनियाँ राजदूत सोङले सभामुख घिमिरे वरिष्ठ राजनीतिक रहेको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिए।
सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गरे।
उनले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्याएको सहयोगको प्रशंसा गरे। भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे।
भेटमा सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले गत भदौमा गरेको नेपाल भ्रमणमा भएको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारी कार्यान्वयन गर्न संघीय संसद सचिवालयले कार्यआरम्भ गरेको जानकारी दिए।
राजदूत सोङले चिनियाँ राष्ट्रपतिको तीन वर्षअघि भएको भ्रमणपछि नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा चीनले ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए।
उनले नेपालको समृद्धिको चाहनालाई चीनले उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिए। राजदूत सोङले चिनियाँ नाकाहरुबाट हुने ढुवानी क्षमतामा सुधार भएको जनाउँदै आगामी दिनमा चीनतर्फका ६ वटै नाका क्रमशः खुलाउँदै जाने प्रतिबद्धता जनाए।







डिसी नेपाल







Facebook Comment