विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि

डिसी नेपाल
१ फागुन २०७९ २१:१५

कास्की । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उनकी श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो । अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो । राजनको शव माघ ८ गते काठमाडौँमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो ।

डिएनएको रिपोर्ट हिजो प्राप्त भएपछि काठमाडौँबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । उनीहरुको आजदेखि नै काजकिरिया सुरु भएको र दाजु किरिया बसेको बताइन्छ ।

डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किएका थिए । विवाहको पहिलो वार्षिकोत्सव मनाउन उनी पुस ३० गते नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाडौँ गएकी थिइन् ।

पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।

यसैगरी, एक महिनाअघि पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत पोखरा–२१, दोविल्ला निवासी २४ वर्षीया सविना रायमाझीको अन्त्येष्टि गरिएको छ ।

पोखरा–२१ स्थित सेती नदीको दोबिल्ला घाटमा आज बिहान सविनाको अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन् । जहाज दुर्घटनामा परेकी सविनाको शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमाडौँ लगिएको थियो ।

डिएनएको रिपोर्ट माघ २९ गते आइतबार मात्रै प्राप्त भएपछि सोमबार सविनाको परिवारले शव बुझेलगत्तै अन्त्येष्टि गरेका हुन् । काठमाडाँैबाट पोखरा फर्कने क्रममा सविनाको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *