चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल

डिसी नेपाल
५ फागुन २०७९ १६:५५
264
Shares

काठमाडौं। बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो शल्यक्रिया सफल भएको छ।

भण्डारीका स्वकीय सचिव माधव न्यौपानेका अनुसार पहिलो शल्यक्रिया सफल भएको हो। भण्डारीको दुईवटा खुट्टामा गरिएको शल्यक्रिया सफल भएको छ।

दोस्रो शल्यक्रियाबारे छलफल हुँदै गरेको उनले जानकारी दिए। भण्डारीको स्वास्थ्य अवस्था स्थिर रहेको न्यौपानेले उपचारमा संलग्न चिकित्सकहरुलाई उदृत गर्दै बताएका छन्।

उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।

नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्।

भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो।

नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो।

आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएकी थिइन्। हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो । नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *