आज शिवरात्रि भगवान शिवको पुजा गरि मनाईंदै

डिसी नेपाल
६ फागुन २०७९ ७:०९
28
Shares

काठमाडौं। हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ।

कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ।

व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ। शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिने गरीन्छ।

शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ। शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ।

आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ। यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

आज निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *