मजदुरहरुको आन्दोलनमा कमाण्ड कमजोर भएको भन्दै दुई डीएसपीलाई कारबाहीको सिफारिस

डिसी नेपाल
८ फागुन २०७९ २०:२३
156
Shares

काठमाडौं। यातायात मजदुरहरुले गरेको आन्दोलनलाई नियन्त्रण गर्न नसक्नु तथा समयमै सूचना संकलन गर्न नसकेको भन्दै दुई डीएसपीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ।

फागुन १ गते बालाजु, माछापोखरी नयाँ बसपार्कलगायत क्षेत्रमा भएको प्रदर्शन नियन्त्रण गर्न नसक्नुमा महानगरीय प्रहरी वृत्त बालाजु र सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपीको कमाण्ड कमजोर भएको निष्कर्ष निकालिएको हो।

डीआइजी मसाउद आलम खाँको नेतृत्वमा भएको छानबिन समितिको निष्कर्षमा कमान्ड सम्हालेका दुई प्रहरी वृत्तका प्रमुखको कमजोरी भएको देखिएको उल्लेख गरेको छ। वृत्त बालाजु र सोह्रखुट्टेका दुई डिएसपीको कमान्ड कमजोर भएका निष्कर्ष समितिको रिपोर्टमा उल्लेख छ।

समितिले दुई वृत्तका डिएसपीलाई कारबाही गर्ने सिफारिस गरेको छ। गठित छानबिन समितिले सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलाई प्रतिवेदन बुझाएको छ।

‘आज प्रतिवेदन बुझाइएको छ, त्यो विषयमा निकट दिनमै छलफल हुनेछ’, एआइजी लोहनीले भने। काठमाडौं उपत्यका प्रहरी कार्यलयले महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपीको जिम्मेवारीसमेत खोसिसकेको छ।

प्रर्दशनकारीले आन्दोलनको क्रममा प्रदर्शनकारीले डीएसपी चढ्ने भ्यानमा आगो लगाइदिएका थिए। प्रहरीको बा २ झ १४४ नम्बरको स्कारपियो र बा १ झ ७२२४ नम्बरको गाडीमा तोडफोड तथा आगलागी भएको थियो।

आन्दोलनको क्रममा कमान्ड चुकेको भन्दै डीएसपी जिम्मेवारी मुक्त गरिएको हो। बालाजु वृत्तका डीएसपी रविन विष्टको जिम्मेवारी खोसिएपछि सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई पनि कारबाहीको लागि सिफारिस गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *