आर्थिक संकटबाट बाहिर निस्कन पाकिस्तानले विदेशी मिसन बन्द गर्ने, कर्मचारीलाई निकालिने

डिसी नेपाल
११ फागुन २०७९ १३:५९

काठमाडौं । पाकिस्तान गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । यो समस्या हटाउन पाकिस्तानले लगातार आफ्नो खर्च कटौती गरिरहेको छ । अब पाकिस्तानले आफ्नो वैदेशिक खर्च घटाउने निर्णय गरेको छ ।

पाकिस्तानको जियो न्युज च्यानलको रिपोर्ट अनुसार प्रधानमन्त्री शहबाज शरीफले विदेश मन्त्रालयलाई विदेशी नियोग, कार्यालय र कर्मचारीको संख्या घटाउन र खर्चमा १५ प्रतिशतले कटौती गर्न अन्य उपायहरू गर्न निर्देशन दिएका छन्।

जनवरीमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफद्वारा गठित राष्ट्रिय अस्टेरिटी समितिले आर्थिक संकटबाट पार पाउन सरकारी कर्मचारीको तलब १० प्रतिशतले कटौती गर्ने प्रस्ताव गरेको थियो ।

यति मात्र होइन, समितिले मन्त्रालय र विभागको खर्चमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गरेको छ । मन्त्रीको संख्या घटाउन पनि सुझाव दिएको छ । समितिले सरकारलाई सल्लाहकारको संख्या ७८ बाट घटाएर ३० पुर्याउने र बाँकीले पैसाबिना काम गर्ने सिफारिस गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले गत हप्ता एक कार्यक्रममा पाकिस्तान पहिले नै टाट पल्टिएको बताएका थिए । देशको यो अवस्थाका लागि राजनीतिक नेतासहित सेना र कर्मचारीतन्त्रलाई निशाना बनाए ।

मुलुकमा मुद्रास्फीति ३० प्रतिशत नजिक पुगेको छ । आटा–दाल–चामलदेखि पेट्रोल–डिजेलसम्मको मूल्य आकाशिएको छ । माग बढेसँगै अत्यावश्यक वस्तुको अभाव ह्वात्तै बढ्दै गएको छ भने पाकिस्तानको अवस्था बिग्रँदै गएको डरले मानिसहरु पाकिस्तान छोडेर भाग्न थालेका छन् ।

योसँगै पाकिस्तानमा बेरोजगारीको संकट गहिरिँदै गएको छ । औषधि कम्पनीमा काम ठप्प हुँदा मानिसले बेरोजगारीसँगै रोगको उपचारका लागि औषधिको चर्को अभावको सामना गर्नुपर्ने हुनसक्छ ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति द्रुत गतिमा घट्दै गएको छ, उच्च मुद्रास्फीति दर र पाकिस्तानी मुद्रामा तीव्र गिरावट आएको छ। पाकिस्तानको अवस्था यस्तो बनेको छ कि त्यहाँका धेरै ठूला कम्पनीहरूले आफ्नो झोला प्याक गरेका छन् ।

ब्लूमबर्गको रिपोर्ट अनुसार अमरेली स्टिल्स लिमिटेड, मिल्लत ट्रयाक्टर्स लिमिटेड, डायमण्ड इन्डस्ट्रिज लिमिटेड सुजुकी मोटर्स कर्पोरेशन र जीएसके लगायतका धेरै कम्पनीहरुले आफ्ना प्लान्ट बन्द गरेका छन् । यसबाहेक कच्चा पदार्थ आयातमा समस्या आएपछि टायर ट्युब र औषधिसम्बन्धी धेरै कम्पनीले काम रोकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *