एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ

डिसी नेपाल
१७ फागुन २०७९ १८:४९
204
Shares

चितवन। भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन्।

भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566  नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।

उनका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौँ लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको उनले बताए। बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने उनले बताए।

यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागुऔषध कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अवस्थामा लागुऔषध पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *