कृषिप्रतिको आकर्षण बढाउन प्रदर्शनी मेला
गण्डकी। पोखरा महानगरपालिका–१३ को आयोजना एवं महानगरपालिकाको कृषि महाशाखाको साझेदारीमा एक दिने बृहत् कृषि मेला प्रदर्शनी गरिएको छ।
वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को समन्वयमा गरिएको प्रदर्शनीमा वडाभित्रका विभिन्न कृषक समूहबाट आआफ्ना कृषिजन्य उत्पादन प्रदर्शनमा राखेको वडाध्यक्ष किरण बरालले जानकारी दिए।
कृषिप्रति सर्वसाधारणलाई आकर्षित गराउन मेला आयोजना गरिएको उल्लेख गर्दै उहाँले वडाभित्र बाँझा जग्गामा खेती गर्दै कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नेतर्फ लाग्नु जरुरी रहेको बताए।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले कृषि क्षेत्रमा गरिने मेला तथा प्रदर्शनीले कृषकको क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताए।
खाली जग्गा राख्नुभन्दा त्यसमा उत्पादनका लागि अर्कालाई खेती गर्न दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए।
पोखरा महानगरपालिका–१३ कृषि सञ्जालका अध्यक्ष नरेन्द्र अधिकारीले कृषक उत्पादनको मूल्य नपाउँदा समस्यामा पर्ने गरेको बताए। वडाभित्रका ४० प्रतिशत जग्गा अझै बाँझो रहेको बताउँदै उनले कृषिमा आकर्षण हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
प्रदर्शनीमा पुतली तरुल, कान्छी चैतेजस्ता लोपोन्मुख प्रजातिका कृषिजन्य उत्पादनसहितका सामग्री राखिएको छ।
मेलाकै अवसरमा रैथाने बालीका परिकारको प्रदर्शनीसहित माटो परीक्षण तथा बाली उपचार शिविर पनि आयोजना गरिएको छ। मेला विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीलाई पनि अवलोकन गराइएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment