बिदा मनाउन मेक्सिको गएका यी नेपालीभाषीमाथि यस्तो बज्रपात

डिसी नेपाल
२२ फागुन २०७९ ९:२५

कोलम्बस। मानिसलाई विपत् कसरी आइलाग्छ भन्ने कुराको कुनै पत्तो हुँदैन। खुसी खुसी विदा मनाइरहेका बेला अमेरिकाको कोलम्बस, ओहायो निवासी बालकृष्ण न्यौपानेलाई अकस्मात् आइलागेको काहालीलाग्दो विपतले ओहायो र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी समुदाय शोकमग्न भएका छन्।

बिदा मनाउन दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेको न्यौपानेका परिवार जस्तो गएको थियो त्यस्तै सकुशल फर्किन सकेन। मनभरि पीडा बोकेर बालकृष्ण र उनका ३ बर्षीय कान्छा छोरामात्र सकुशल घर फर्किन सके।

घटनाविवरण अनुसार, दुबै एउटै कम्पनीमा काम गर्ने बालकृष्ण र उनकी पत्नी रुकादेवी न्यौपाने आफ्ना दुई छोराहरु आरभ र अर्पणलाई समेत लिएर विदा मनाउनका लागि मेक्सिकोको काबो सेन्ट लुकास भन्ने पर्यटकीय क्षेत्रमा फेब्रुअरी १९ मा गएका थिए।

समुद्र तटको सो क्षेत्रमा फेब्रुअरी २४ सम्म समय यो परिवारका लागि हासीखुसी बितेको थियो। तर, फेब्रुअरी २४ को साँझ सोच्दै नसोचेको बज्रपात यसरी भोग्नु परेको कि थाहा पाउने आफन्तजन र अमेरिकाबासी नेपालीभाषी समुदाय नै शोकमा डुब्न पुग्यो।

दिनभरको घुमाइपछि न्यौपानेको परिवार आफू बसेको होटलमा पालमारामा साँझ फर्कियो। डिनर खानुभन्दा पहिला तातो पानीको पोखरी ज्याकुजीमा बस्न गए। यत्तिकैमा सानो छोरालाई वाथरुम जान मन लाग्यो।

पत्नी रुकु र ठूलो छोरालाई त्यही छाडेर बालकृष्ण सानो छोरालाई लिएर गए। बाथरुमपछि सानो छोरालाई केही खानासमेत किनेर फर्किँदा केही समय लाग्यो। बालकृष्ण फर्कँदा ज्याकुजीमा श्रीमती र ठूलो छोरा थिएनन्।

बरु ज्याकुजीको नजिकै रहेको स्वीमिङ पुलमा दुई जनाको शव तैरिरहेको थियो। र, दुबैलाई पानीबाट निकाल्ने प्रयासमा मानिस थिए। प्यारामेडिक्स र एम्बुलेन्स आएका थिए। हेर्दा आफ्नै श्रीमती र छोरा परेपछि बालकृष्ण बज्रपात पर्‍याे।

दुबैलाई अस्पताल त लगियो र मृत घोषणा गरियो। बालकृष्णमाथि परेको यो पीडाको जानकारी पाएपछि केही आफन्तहरु भोलिपल्टै मेक्सिको गए। मृतकहरुको पोष्टमार्टम र अन्य प्रक्रिया पूरा गर्नु पर्ने भयो।

अमेरिकामा कम्पनीमा काम गरेर परिवार चलाइरहेका न्यौपानेलाई अकस्मात आइलागेको यो अपतमा आर्थिक आपत पनि थपियो। शबलाई अमेरिकासम्म लैजानु पर्ने हुन्थ्यो।

प्रक्रियाको शुरुदेखि शब अमेरिकासम्म लैजानलाई नै धेरै रकम खर्च गर्नु पर्ने अवस्था आयो। यस्तो अवस्थामा गो फण्ड खोलेर त्यसमार्फत सहयोग जुटाउने काम आफन्तहरुले गरिरहेका छन्।

(सहयाेग गर्नका लागि हार्दिक श्रद्धान्जली लेखेकाे  लिंकमा क्लिक गर्नस्)।

हार्दिक श्रद्धांजलि

बालकृष्णका भाइ नाताका नारायण न्यौपानेले दिएको जानकारीअनुसार, मेक्सिकोबाट शब ल्याएर शनिवार मार्च ४ का दिन कोलम्बसमा अन्तिम संस्कार गरिएको छ। बालकृष्णमाथि परेको बज्रपातप्रति सहानुभूति देखाउने र समबेदना व्यक्त गर्नेहरुको ठूलो भीड अन्तिम संस्कारका दिन पनि देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *