एम्लबर सभाहल किराँत संग्राहलयको काम अन्तिम चरणमा

डिसी नेपाल
२३ फागुन २०७९ ११:४५

भोजपुर। किराँत राईहरुको बाहुल्यता रहेको भोजपुरमा संग्रालयसहितको यलम्बर सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। किराँत राईहरुको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको संग्रालय(माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको हो।

कोशी प्रदेश सरकार अन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको करिब रु. तीन करोड १७ लाख लागतमा भवन निर्माण भइरहेको छ।

भोजपुर नगरपालिका ६ देउरालीमा घेराबारासहित चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीन तले सभाहलको पहिलो तलामा किराँत संग्राहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमा माथि २० फिट अग्लो किराँत राईहरुको विभिन्न संस्कारहरुमा प्रयोगमा आउने (वाबुक) चिन्डो राखिने किराँत राई यायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिए।

यो संग्राहलयलाई विश्वको रिसर्च सेन्टरको रुपमा विकास गर्ने उनको भनाइ छ ।‘किराँत राईहरुले परापुर्व कालमा प्रयोग गर्ने सामग्रीको संग्रह गर्ने लक्ष्यले यहाँ भवन निर्माण भईरहेको छ’संयोजक राईले भने, ‘यसलाई विश्वलेसमेत रिसर्च गर्ने संग्रालयको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।’

किराँतहरुको विभिन्न संस्कार संस्कृति झल्काउने गरी यहाँ स्थापना हुने संग्रालयलबाट भावी पुस्तालेसमेत इतिहासको जानकारी पाउन सक्ने संयोजक राईको भनाइ छ। संग्रालयले किराँत संस्कृतिको रक्षा गर्न योगदान पुर्‍याउने उनले बताए।

किराँत सभ्यता अनुसार अरुण नदी पूर्वलाई पल्लो किराँत र सुनकोशी नदी यताको भागलाई माँझ किराँत भनिने भएकाले निर्माण भईरहेको भवन माँझ किराँतमा पर्ने उनको भनाइ छ।

‘किराँत राईहरुको सभ्यता जोगाउनको लागि संग्राहलय निर्माणको अवधारणा अनुसार काम भइरहेको छ’ उनले भने, ‘अहिले निर्माण भईरहेको यो संग्राहलय भवन माँझ किराँतमा पर्छ। यो एउटा किराँत समुदायसँगै भोजपुरबासीको लागि गौरवको कुरा हो।’

भवनको अवलोकन गर्दै कोशी प्रदेश सांसद सिर्जना राईले आवश्यक थप संरचना निर्माणका लागि बजेटको कमि हुन नदिने बताए। आफू किराँत राई यायोक्खा भोजपुुरको अध्यक्ष रहँदा भवन निर्माणको थालनी गरेकोले यसको पूर्णताको लागि भूमिका खेल्ने उनले बताइन्। संग्रालय निर्माणले किराँत सभ्यताको पहिचान जोगाउनमा योगदान पुग्ने सांसद राईको भनाइ छ।

‘यो भवनलाई पूर्णता दिन मेरो ठाउँबाट भूमिका खेल्छु’’ सांसद राईले भनिन्,‘मेरो अगुवाईमा यसको निर्माण थालिको हो। अहिले फरक जिम्मेवारीमा छु । यसको आवश्यक संरचना निर्माणमा बजेट व्यवस्थापन गर्नेमा ध्यान दिन्छु।’

निर्माण कार्य तिव्र गतिमा भईरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ। निर्माण कार्यलाई गुणस्तरीय बनाउन अनुगमन तथा निरीक्षण भईरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका इन्जिनियर रामफुल चौधरीले बताए। भवन निर्माणको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।

‘भवनलाई गुणस्तरीय बनाउन हामीले भूमिका खेलिरहेका छौँ’ उहाँले भने,‘हालसम्म रु.दुई करोड ६४ लाख भुक्तानी भइसकेको छ। अवको केही समयमा नै भवनले पूर्णता पाउँछ।’

संग्रालयसहितको सभाहल भवनले किराँत संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटनमासमेत टेवा पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए। विभिन्न जातजातीको संस्कार संस्कृतिको संरक्षणमा गाउँपालिकाले पनि भूमिका खेलिरहेको उनको भनाइ छ।

‘हामी स्थानीय सरकारले पनि विभिन्न जातजाती, धर्म, संस्कार संकृतिको जर्गेणामा काम गरिहेका छौँ’ अध्यक्ष राईले भने,‘किराँत राई यायोक्खाले थालेको कामलाई सहज बनाउन गाउँपालिकाले पनि केहि आर्थिक सहयोग गरेको छ। हामीले यस्ता कुराको संरक्षण तथा विकासमा ध्यान दिन आवश्यक छ।’

सभाहलको शिलान्यास २०७७ कार्तिक २३ गते कोशी प्रदेशका तत्कालिन मुख्यमन्त्री शेरधन राईले गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *