आमाका नामबाट नागरिकता नपाउने समस्या समाधान गर्न लागि पर्छुः राष्ट्रियसभा उपाध्यक्ष अर्याल

डिसी नेपाल
२३ फागुन २०७९ २०:३६
24
Shares

काठमाडौं। राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाएकी छन्।

एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले आज यहाँ आयोजना गरेको ‘मबाट महिलावाद’ विषयक कार्यक्रममा उन्ले संविधानमा व्यवस्था गरेर पनि आमाका नामबाट नागरिकता नपाएको विषयलाई आफूले गम्भीररूपमा लिएको बताइन्।

साइबर अपराधका उजुरी काठमाडौँमा मात्र दर्ता हुँदा समस्या आएको गुनासा धेरै जिल्लाबाट आएको उल्लेख गर्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै सहजताको व्यवस्था गराउन लागिपर्ने बताइन्। प्रविधिको प्रयोगले महिला नै बढी पीडित भएका घटना आएकाले यसमा सजगता अपनाउन पनि उनले आग्रह गरिन्।

महिला हिंसाका घटनामा महिला दर्‍हो भए कसैको केही नचल्ने अनुभव सुनाउँदै उपाध्यक्ष अर्यालले महिलाबाट पुरुषलाई पनि हिंसा भएका घटना आउन थालेकाले कसैप्रति पनि हिंसा नहुने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा मञ्चका अधिवक्ता नेहा गुरुङले महिलाले आफू सुरक्षित हुन कानूनी ज्ञान राख्नुपर्नेमा जोड दिइन्। कानूनकी विद्यार्थी यशोदा चन्दले प्रविधिले निम्त्याएको विकृति विषयमा कविता पाठ गरेकी थिइन्।

प्रविधिले महिला, किशोरी र बालिकामा पारेको नकारात्मक प्रभावका विषयमा सचेतनामूलक नाटक पनि सो अवसरमा प्रस्तुत गरिएको थियो।

आठ मार्चका अवसरमा बुधबार विश्वभर ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै छ।

यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायतले विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *