महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छः प्रधानमन्त्री दाहाल

डिसी नेपाल
२४ फागुन २०७९ १३:२५

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले महिलाको प्रजनन् स्वास्थ, शिक्षामा सुधार हुँदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम गर्न गएका महिलालाई सुरक्षित वातावरण बनाउने र समस्या भएमा सरकारले सहयोग गर्ने बताए।

“संविधान र कानुनले महिलाको हक अधिकारका लागि एतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तहदेखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उनले भने, “महिलालाई राजनीति, सामाजिक र आर्थिक अधिकारमा समानरूपले अघि बढेको छ।”

प्रधानमन्त्री दाहालले संविधानले महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरेको भन्दै नीतिगत, कानुनी र संरचना सुधार हुँदै आएको बताए। महिलाले शारीरिक रूपमा गर्न सक्दैन भन्ने कुरालाई महिलाले जनआन्दोलनदेखि आफ्नो क्षमता देखाएको उनले स्मरण गरे।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकता, सङ्घर्ष र विजयको प्रतिकका रूपमा मनाउँदै आएको र महिलाको सम्मानजनक जीवनयापन गर्नका लागि राज्यले अधिकतम प्रयत्न गरिरहेको बताए। उनले संविधान र कानुनमा व्यवस्था भए पनि पैतृक सम्पत्तिमा व्यवहारिक रूपमा अघि बढाउन नसक्नु चुनौतीपूर्ण बनेको बताए।

मन्त्री शर्माले पछिल्लो समयमा तीव्ररूपमा सूचना प्रविधिको विकास भए पनि त्यसको महिलाले सही रूपमा प्रयोग हुन नसकेको र प्रविधि महिलामैत्री बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले महिला अधिकारको बहुआयामिक क्षेत्रबाट अध्ययन गरी महिलाविरूद्धका घटनाको उजुरी लिने, अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको बताए।

राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले आयोगले महिलाको हक, अधिकारको रक्षा गर्ने काम गरिरहेको बताइन्। महिला मन्त्रालयका विज्ञ सदस्य सविन श्रेष्ठले ‘नेपालमा लैङ्गिक समानताको यात्रा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्रमा परराष्ट, न्याय, सुरक्षाको क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख छ। कार्यक्रममा शक्ति समूहको तर्फबाट हरेक क्षेत्रमा महिलाले काम गर्न सक्छन् भन्ने सन्देशमूलक नृत्य प्रस्तुत गरिएको थियो।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *