परिवारको सहारा बन्दै बालबालिका

डिसी नेपाल
२५ फागुन २०७९ २२:०८
20
Shares

बझाङ। जयपृथ्वी नगरपालिका– ३ पडेसका रोशन विष्ट भैरवनाथ आधारभूत विद्यालयमा पढ्छन्। पाँच कक्षामा पढ्ने उनी बिदाको दिनमा जहिल्यै पुङर लेकमा पुग्छन्। दोघरी (दुईवटा घर भएको) विष्ट परिवारको अधिकांश समय पुङरमै बस्ने हो।

खेतीपाती, वस्तुभाउ, नजिकै जङ्गल भएका कारण विष्ट परिवारको अघिल्लै पुस्ताको रोजाइमा परेको क्षेत्र पनि हो पुङर। लामो समयदेखि पानीको समस्यामा परेका पुङरवासीले अहिले भने त्यसबाट पनि मुक्ति पाएका छन्।

सय÷सय मिटरको अन्तरमा निर्माण भएका खानेपानीका धाराले सामान्यतया आँगनका बारीमा सिँचाई गर्नसमेत राहत मिलेको छ।

खेतबारी सिँचाइका लागि अहिले पुङर लेकमा पक्की नहर निर्माणको काम भइरहेको छ। नहरमा ज्यालादारी काम गर्न हरेक परिवारको सक्दो उपस्थिति उत्तिकै छ।

परिवारमा कम सदस्य हुनेलाई बालबालिकाले सहयोग गरिरहेका छन्। विद्यालय बिदाको दिनमा कहिले बालबालिका त कहिले अभिभावक श्रममा जाने गरेको स्थानीयवासी विनोद विष्टले बताए।

उनका अनुसार गाउँमा केही योजना आएको बेलामा घर खर्च निकाल्न सजिलो हुने भन्दै बालबालिकाको बिदाको समय कुर्नुपर्छ। “घरमा कम सदस्य हुनेले त वस्तुभाउलाई पानी खुवाउने मान्छे पनि पाउँदैनन्। त्यसो हुँदा काम गर्न सकिँदैन”, उनी भन्छन्। बालबालिकाको बिदाको दिनमा भने घरको काममा बाधा नहुने उनी बताउँछन्।

गएको शनिबार पनि तीन\चार जना बालबालिका घर नजिकै गिट्टी कुटिरहेका थिए। बिदाको दिनमा वस्तुभाउलाई घाँस, पानी खुवाउने र बाँकी समय गिट्टी कुट्ने गरेको पाँच कक्षामा अध्ययनरत विपना खड्काले बताइन्। “सधैँ विद्यालयमै हुन्छौँ,” उनले भनिन्, “आजभोलि गाउँमा कुलोको पनि योजना आएको हुँदा घरका सबै त्यतै काम गर्न जानुहुन्छ । बिदाको दिनमा हामी पनि सहयोग गर्छौं।”

उनले घरको वस्तुभाउको घाँसपातको काम गरेर बिदाको दिनमा दैनिक एक÷डेढ कट्टा गिट्टी फुटाउने गरेको बताइन्। विपनाले बिदाकै दिनमा काम गरेर यसै महिना रु एक हजार एक सय जम्मा गरेको सुनाइन्। “एक कट्टा गिट्टीको एक सय रूपैयाँ पर्छ। मैले त एक दिन दुई कट्टा पनि बनाएकी छु।” विद्यालय खुलेको समय पढ्ने र बाँकी समय घरायसी काममा सहयोग गर्ने गरेको उनले बताइन्।

भैरवनाथमा ४ कक्षामा अध्ययनरत रोहन विष्ट पनि घरमा खाली बस्नुभन्दा छिमेकी दिदीसँगै गिट्टी कुट्न आएको बताउँछन्। “नहरको काम गर्न आमा जानुहुन्छ। म गाईवस्तुलाई घाँस पानी दिएर गिट्टी कुट्न आएको हुँ।” गिट्टी कुटेको पैसाले घरमा नुन÷तेल, आफ्नो कापी कलम किन्ने गरेको उनले बताए।

नहरमा मात्रै होइन, हरेक कामका लागि पनि ठूला मान्छे (उमेर पुगेका) लाई मात्रै लगाइन्छ। रोहन भन्छन्, “हामी सानो मान्छेलाई काम गर्न गए पनि पैसा दिँदैनन्। त्यसैले जाँदैनौँ। बरू एक कट्टा गिट्टी कुटे त्यसको पैसा आउँछ।”

नहरमा काम गर्दै गरेका भरत विष्टले पनि परिवारमा बालबालिका हुँदा निकै सहयोग हुने गरेको बताए। “बालबालिकालाई श्रम सिकाउन पनि काममा लगाउनैपर्छ। चाहे त्यसले जति ठूलो सानो काम गरोस्। नत्र उसले केही सिक्दैन”, उनी भन्छन्।

भरतका अनुसार बालबालिकालाई विद्यालयको समयमा छुटाउने होइन। “गृहकार्यमा पनि आफूले सघाउने हो। बाँकी समय भने घरायसी काम सिकाउँदा राम्रो हुन्छ।” बालबालिकामै सिकाए मात्रै पछि काम लाग्ने उनले बताए।

“बालबालिकालाई श्रम, श्रमको महत्त्व, पारिवारिक स्थिति, भविष्यमा आइपर्ने हरेक समस्याको बारेमा जानकारी दिइरहनुपर्छ”, भरत भन्छन्, “अहिले कतिपय युवायुवतीलाई नै सामान्य घरायसी काम गर्न आउँदैन। खाना पकाउन आउँदैन। पानी पँधेराको काम आउँदैन। हाम्रा बालबालिकाहरूले त अहिले नै सिकिसके।”

भरतले बालबालिकाको भविष्यमा जति बेलामा पनि काम लाग्ने, आफूलाई पनि सहयोग मिल्ने भन्दै श्रम सिकाएको बताए।

“भोलि सबैले सरकारी जागिर खान्छन् भन्ने पनि हुँदैन, सबैलाई पुग्ने हाम्रो देशमा जागिर पनि छैन”, उनले भने, “त्यसैले जुनसुकै सीप सिकाउँदा पनि काम लाग्छ। भोलि उसले गरोस् या नगरोस्। आइपरेमा गरेर खान सक्छ। भोको बस्नु त पर्दैन। काम जे सिके पनि खण (खेर) जाँदैन।”

– भूमिराज पिठातोली\रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *