प्राधिकरणले फुकुवा गरेसँगै श्री एयरलाइन्सको उडान सुचारू

डिसी नेपाल
२७ फागुन २०७९ ८:४५
40
Shares

काठमाडाैं।नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ।

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो। प्राधिकरणले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको छ। “श्री एयरलाइन्सको उडान फुकुवा भयो, तर एयरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र आज प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने सर्तमा उडान फुकुवा गरिएको हो”, उनले भने।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनःउडान अनुमति पाएसँगै शनिबारदेखि नियमित उडान सञ्चालन गरिने बताए। उनले भने, “प्राधिकरणले शुक्रबारै पुनःउडान सञ्चालनको अनुमति दिएको छ। अबेर साँझ निर्णय आएकाले शनिबारदेखि मात्रै उडान गर्ने निर्णय भएको छ”, उनले भने।

व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो।

शुक्रबारका लागि पूर्वनिर्धारित सबै १४ उडान स्थगित भएको र यसबाट करिब दुई हजार यात्रु मर्कामा परेको कम्पनीले जनाएको छ।

बिहीबार काठमाडौँबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो। श्री एयरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन्। तीमध्ये चार वटा मात्रै सञ्चालनमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *