उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध उजुरी दर्ता

डिसी नेपाल
२७ फागुन २०७९ १६:५६

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ।

शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिएका हुन्।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेका सांसद बर्तौलाले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ। उजुरीमाथि आइतबार १२ बजेसम्म छानबिन गर्ने समय छ।

सत्ता गठबन्धनले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन नसकेपछि तीन जनाको उम्मेदवारी परेको छ। जसपाका दुई जनाले उम्मेदवारी दिएका छन् भने गठबन्धनकै जनमत पार्टीले ममता झालाई पनि उम्मेदवार बनाएको छ।

निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिंग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ। सोही कारणले जसपाले महिला उम्मेदवार प्रमिला कुमारी यादवलाई पनि उठाएको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *