खन्ती–जोमसोम सडक कालोपत्र सुरु

डिसी नेपाल
२९ फागुन २०७९ १०:१८
1.1k
Shares

जोमसोम। मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको छ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम सुरु भएको हो।

आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले जेभीले खन्तीदेखि जोमसोमतर्फ आस्कपाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए।

“एक किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ”, उनले भने, “ठेकेदारसँग हाल चार किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ । थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ।”

विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो। यो सडक कालोपत्र गर्न विसं २०७३ असारमा पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने जेभीले रु ९९ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको थियो।

साझेदार मध्य पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ। सडक निर्माणको काम अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो।

कालोसूचीबाट जोगिनका लागि गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ। गौरी पार्वतीले आयोजनाअन्तर्गतनै ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए।

ग्राभेलका लागि रु ५८ करोड २६ लाखमा ठेक्का सम्झौता भएको यो खण्डको ९० प्रतिशत निर्माण सकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *