प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी निष्क्रिय बनाउने स्वघोषणा

डिसी नेपाल
२९ फागुन २०७९ १८:४३

काठमाडौं। उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिएकी जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी छन्।

सांसद प्रमिलाले पार्टीकै नेता रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गरेकी हुन्। तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ।

सांसद प्रमिलाले भनेकी छन्, ‘‘गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुभएका पूर्वमन्त्री जसपा, नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीका विरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र सङ्घर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ।’’

यादव राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपले समाजको अग्रगामी रूपान्तरण र परिवर्तनको सङ्घर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक–पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै सांसद प्रमिलाले आफूपछि हटेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइन्।

विज्ञप्तिमा भनिएको छ, ‘‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशिता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक सधैँ समर्पित रहने शालीन स्वभावका, सादा जीवन, निष्कलङ्क एवम् स्वच्छ छवि र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता रामसहाय प्रसाद यादव, उप–राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ। प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिबद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *