दश वर्षीया बालिकालाई बलात्कार गर्ने युवालाई जन्मकैद
सप्तरी । बालिका बलात्कार अभियुक्तलाई आज अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।
अभियुक्तले बालिकालाई विसं २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएकी थिइन् । बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई विसं २०७८ फागुन २२ गते पक्राउ गरेको थियो । जिल्ला अदालतमा विसं २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित विसं २०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment