फोहरबाट वायोग्यास बनाउँदै काठमाडौं महानगर, प्लान्ट मर्मत गर्न एक साता लाग्ने

डिसी नेपाल
३ चैत २०७९ २१:१६
132
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ।

पाँच वर्षसम्म बन्द रहेको प्लान्टको छ दिनदेखि मर्मतको काम भइरहेको छ। मर्मतको काम सक्न अब एक हप्ता लाग्छ। मर्मत कार्य सकिए पनि सञ्चालनमा ल्याइने योजना रहेको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मर्मतको लागि राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय भएर काम भईरहेको छ। प्लान्टको केही भित्रि इन्जिन फेर्न पर्ने भएकाले अहिले उक्त कार्य भइरहेको छ।

फोहरबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ।

प्लान्ट सञ्चालनको मुख्य लक्ष्य कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका गर्नु हो। उक्त परियोजनामा युरोपियन युनियनले रु चार करोड ६० लाख र कामपाले रु एक करोड ८२ लाख लगानी गरेका थिए।

एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ। उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ।

विसं २०७० सालदेखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएको भए पनि २०७४ सालदेखि आधिकारिकरूपमा सञ्चालन गरिएको थियो। केही समयमात्र सञ्चालन भएर दक्षजनशक्ति अभावका कारण पुनः बन्द भएको थियो। प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपाले कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

कुहीने फोहर व्यवस्थापनकै लागि विभागले कम्पोष्ट मल उत्पादन कार्य पनि सुरु गरेको छ। एक महिनाअघि टेकुबाट मल उत्पादन सुरु गरेको कामपाले अहिले अन्य एक स्थानबाट पनि उक्त कर्य सुरु गरेको छ। परीक्षणका रुपमा गरिएको उक्त काम सफल भए अन्य स्थानमा पनि विस्तार गर्ने योजना कामपाको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *