भारत भ्रमणमा सञ्चारमन्त्री शर्मा

डिसी नेपाल
७ चैत २०७९ २०:३७

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा मंगलबार भारत प्रस्थान गरेकी छन्। मन्त्री शर्मा नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने तालिका रहेको छ।

मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू)को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ।

कार्यक्रममा विभिन्न देशका सञ्चारमन्त्री सहभागी हुनेछन्। त्यस्तै मन्त्री शर्मा बुधबार नै विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय संवादमा सहभागी हुनेछिन्।

बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसित दुई पक्षीय भेटवार्ता गर्ने र शुक्रबार दिउँसो स्वदेश फिर्ता हुने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए। मन्त्री शर्मा भारतस्थित नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन्।

मन्त्री शर्माका साथ नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकममा प्रबन्धक विमल आचार्य भारत प्रस्थान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *