गुनासो बढ्दै गएपछि भीआईपी सवारी कार्यविधि परिमार्जनको तयारी

राष्ट्रपतिको सामान्य सवारी

डिसी नेपाल
७ चैत २०७९ २१:४४

काठमाडौं। राष्ट्रपतिको औपचारिक सवारीको बेला सर्वसाधारणले कष्ट भोगेको गुनासो बढ्दै गएपछि विशिष्ट पदाधिकारीहरूको सवारी कार्यविधि परिमार्जनको अन्तिम चरणमा पुगेको छ।

गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि संशोधनलाई अन्तिम चरणमा पुर्‍याएको हो। गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले कार्यविधिको काम अन्तिम चरणमा पुर्‍याएको हो।

‘गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ, यसलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ’, सहसचिव बस्नेतले भने।

मन्त्रालयले कार्यविधि परिमार्जनका लागि सहसचिव बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत परामर्श गरेको बताइएको छ।

मन्त्रालयले तयार पारेको कार्यविधिमा नेपाली सेनाका प्रतिनिधिहरुले पनि हेर्नुपर्ने भएकाले केही समयपछि मात्रै मन्त्रिपरिषदमा पठाइनेछ। अहिलेको कार्यविधिमा विशिष्ट व्यक्तिको सवारी विगतमा जस्तो सडक पूरै खाली गर्नुपर्ने खालको हुने छैन।

समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख रहने कानुनी व्यवस्था छ।

आवश्यक सुझावपछि कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ। गृहका अनुसार कार्यविधिमा विशेषगरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएको छ।

परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यलयीय सवारीमा सडक खाली गरिनेछैन। ‘पहिलाको भन्दा केही खुकुलो बनाइएको छ, आवश्यकता अनुसार कडा पनि बनाउने व्यवस्था कायमै राखिएको छ’, मन्त्रालय स्रोतले भन्यो।

मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति रामचन्द्र पौडेलले सामान्य शैलीको सवारी प्रयोग गरेका छन्।

गृह मन्त्रालयलेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो। तर, मंगलबार भएको राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *