को बन्ला नेपाल प्रहरीको भाबी आईजीपी?

डिसी नेपाल
८ चैत २०७९ २१:१८

काठमाडौं। नेपाल प्रहरीमा ३० औं आईजीपीको दाबी गर्ने पाँच जना एआईजीहरु पछिल्लो कार्यक्षमतामा सबै अब्बल देखिएका छन्। खास ठूलो विवादमा नआएका र पाँचै जना आफ्नो कार्य क्षेत्रमा अब्बल नै रहेका छन्।

विगतमा जस्तो गम्भीर विवादमा नपरेका डिआईजीहरू एआईजी सिफारिस मात्रै भएनन् उनीहरुले बुधबार एआईजीको दज्र्यानी चिन्ह समेत लगाए। दज्र्यानीचिन्ह लगाएपछि वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर आफूहरु सबै आइजीपी हुन सक्षम रहेको बताएका थिए।

प्रहरीमा ३० वर्षे सेवावधिको प्रावधान हेरफेर नहुने करिब निश्चित जस्तै भएको अवस्थामा ११ चैतबाट उनीहरु मध्ये एक जनाले प्रहरी संगठनको कमान्ड सम्हाल्नेछन्।

पहिलो नम्बरमा बढुवा भएकाले कुँवर आईजीपीका बलिया दाबेदार मानिन्छन्। यसअघि डिआईजी बढुवामा १३ नम्बरबाट १ नम्बरमा फड्को मार्नुले उनलाई सहज भएको छ।

उनी पछिल्लो पटक मधेश प्रदेशमा खटिएका थिए। डिआईजीमा बढुवा हुनुअघि अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका कुँवर एआईजी बढुवामा पनि १ नम्बरमै रहन सफल भए। कुँवर व्यावसायिक प्रहरी अधिकृत मानिन्छन्।

दोस्रो नम्बरमा राई पनि इमानदार छवि भएका अधिकृत हुन्। लामो समय विशेष ब्युरोमा बसेर उनले सशस्त्र हिंसा तथा संगठित अपराधको नियन्त्रणमा देशका लागि महत्वपूर्ण भूमिका निभाएका उनी कार्यक्षेत्रेमा सबल प्रहरी अधिकारी हुन।

उनी लामो समय सादा पोशाकमा काम गरे। पछिल्लो पटक उनले लुम्बिनी प्रदेशको प्रमुख भएर काम गरे।

तेस्रो नम्बरका दीपक थापा अर्का बलिया दाबेदार हुन्। एआइजी बढुवामा तेस्रो नम्बरमा परेकाले उनी पनि प्रहरीभित्र व्यावसायिक अधिकृत मानिए पनि चितवनमा एसपी हुँदा रहँदा रेणु दाहाललाई जिताउन र मतपत्र चपाउनेलाई कारबाही नगरेको आरोप उनीमाथि कायमै छ।

यद्यपि पुष्पकमल दाहाल प्रधानमन्त्री भएकाले उनका लागि अहिले सहज अवस्था बनेको छ। लामो समय प्रबन्ध शाखामा काम गरेका थापालाई संगठनभित्रको आर्थिक कारोबारबारे जानकार मानिन्छ। पछिल्लो पटक उनी बाग्मती प्रदेशको प्रमुख थिए।

चौथो नम्बरका श्यामलाल ज्ञवाली पनि अब्बल प्रहरी अधिकृत मानिन्छन्। उनी पनि अहिलेसम्म कुनै ठुलो विवादमा फसेका छैनन्। उनका दाजु ठाकुर ज्ञावाली आईजीपी भएर निस्किएका थिए। पछिल्लो पटक उनी कोशी प्रदेशमा कार्यरत थिए। योजना र अन्वेषणमा काम गरेका ज्ञावालीलाई प्रशासनिक काममा दक्ष मानिन्छ।

पहिलो पटक महिलालाई आईजीपी बनाउने अवसर भएकै कारण पाँचौँ नम्बरमा बढुवा सिफारिस भएकी किरण बज्राचार्य आईजीपी पदकी एक प्रमुख हकदार हुन्।

साथै, यस पटक आईजीपी नियुक्तिमा इतिहास कायम गर्ने अवसर सरकारलाई रहेको छ। यसअघि उत्कृष्ट पुरस्कारहरू पाएकी उनी क्षमतावान महिला अधिकृतका रूपमा चिनिन्छन्। उनी पनि प्रहरीमा इतिहास रच्ने दाउमा छिन्।

सरकारले यसपटक उनलाई आइजीपीमा नियुक्ति गरेमा नेपाल प्रहरीकै इतिहासमा पहिलो महिला प्रहरी हुने अवसर प्राप्त गर्नेछिन्। उनले सिआइबीमा रहँदा महिला बेचविखनको र्याकेट भत्काउने काम गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *