साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

डिसी नेपाल
३० साउन २०८३ २०:१०

काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताए। उनले भने, “साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन्। यस क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न म सधैँ तयार छु।”

नेपाली भाषा, साहित्य, कला र संस्कृतिका कारण नेपाल विश्वमा परिचित रहेको उल्लेख गर्दै उनले देशका प्रतिभाको संरक्षण र सम्मान गर्नुपर्नेमा जोड दिए। “हाम्रा भाषा, साहित्य नै हाम्रो पहिचान हो”, उनले भने, “हामीले हाम्रा संस्कृतिको संरक्षण गर्नुपर्छ।”

सभामुख अर्यालले मुलुकका विभिन्न स्थानमा रहेका तथा अझै उजागर हुन नसकेका प्रतिभा र साहित्यकारको खोजी गरी उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीका अध्यक्ष प्रा डा गोविन्द नेपालले गुठीले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिए। उनले नेपाली साहित्यको विकास र प्रवर्द्धनका लागि गुठी निरन्तर सक्रिय रहेको बताए।

कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा, निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा डा चूडामणि बन्धुलगायतको सहभागिता थियो। सो अवसरमा विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कृत तथा सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएकामा खुसी व्यक्त गरेका थिए। उनीहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यका क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *