अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रशासकीय अधिकृत ल्याउन होडबाजी, सेवाग्राही मर्कामा 

डिसी नेपाल
१० चैत २०७९ १९:५१
56
Shares

मुकेशकुमार यादव

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको विवादमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउन तानातान गरिरहेका छन् । गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी यादवको व्यक्तिगत विवादका कारण दुवैले आ–आफनो पक्षको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन तानातान गरिरहेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर भए पनि पालिकाभित्रको अन्तरविवादका कारण विकास निर्माणलगायतका कामकाज पूर्णरुपमा ठप्प हुँदा सेवाग्राही मार्कामा परेका छन्। समान्य प्रशासन मन्त्रालयले २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले बरियारपट्टी गाउँपालिकामा हाजिर गरेका थिए ।

तर, सिंह विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिन अर्का अधिकृत सुजितकुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाइयो । मन्त्रालयले पठाएका यादव गाउँपालिकामा हाजिर भए पनि उपाध्यक्षले कामकाज गर्न अवरोध गरिरहेको कर्मचारीहरु बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा मगाएका अशोक कुमार सिंहको ठाउँमा सुजित यादवलाई पठाएर मन्त्रालयले गल्ती गरेको बरियारपट्टी गाँउपालिकाका उपाध्यक्ष ममता कुमारी यादवको आरोप छ  ।

‘आफूहरुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएको सिंह नै यहाँ हाकिम भएर बस्नुपर्छ। । हामीले मगाएका अशोक सिंह हाकिमको रुपमा नरहे आफुहरुले कसैको कुरा स्वीकार गर्ने पक्षमा छैनौँ,’ उनले भनिन्, ‘पालिका चलाउनसक्षम व्यक्ति चाहिन्छ, जुन उहाँमा छ ।’

अशोककुमार सिंह २०७५ देखि २०७७ सालसम्म बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे ।   उनको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको थियो । तत्कालीन समयमा अशोक कुमार सिंह र अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहरुबीच हात हालाहालसम्म हुन पुगेको थियो ।

‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहलाई सम्झाइबुझाइ गरेको कुरालाई व्यक्तिगत रुपमा लिएर अझ समस्या सृजना गर्न खोजेको थियो,’ अध्यक्ष सन्तोष कुमार महतोले भने, ‘अशोक कुमारको रबैयालाई गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाइ गर्न खोज्दा विवाद भएको थियो ।’

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंहको रबैया ठिक नभएको ठम्याईका साथ कार्यपालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरेको अध्यक्ष महतोको भनाइ छ ।

पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकिय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष ममता कुमारी यादवले सुल्झेको विवादमा मलजल गरेर चर्काएका अध्यक्ष  महतोको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको बरियारपट्टी गाउँपालिका–३  का वडाध्यक्ष विनोदकुमार यादवले बताए । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई नल्याएर हुन्थ्यो, ‘वडाध्यक्ष यादवले भने, ‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जे पनि गर्न मिल्दैन । जनप्रतिनिधिले जनताको विकास गर्नका लागि चुनिएको हो । पुराना विवादलाई बल्झाएर पालिकाको काम कारबाहीमा अवरोध सृजना गर्न हुँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *