नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका नाइके दुलालसहित ३ जना पक्राउ

पाँच अर्ब ठगेको प्रहरीको अनुमान

डिसी नेपाल
१२ चैत २०७९ २०:२२

काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका तीन नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहका तीन जना पक्राउ परेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो।

त्यसमध्येका दुलाल सुजता कोइराला परराष्ट्रमन्त्री भएका बेला सहयोगीका रुपमा कार्यरत रहेको पाइएको छ। अपराध अनुसन्धान कार्यालयका अनुसार पछिल्लो ३–४ वर्षमा उनीहरूले ८१ जनालाई अमेरिका पठाइसकेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ। उनीहरूले त्यसक्रममा पाँच अर्ब रुपैयाँ ठगेको हुनसक्ने प्रहरीको दाबी छ।

अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले उनीहरुलाई सार्वजनिक गरिसकेको छैन। दुलाल यसअघि पनि पक्राउ परेका थिए। तर उनलाई तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा छाडेको थियो।

‘भुटानी शरणार्थी कार्ड बनाएर ठगी गरेको विषयमा उनीहरुलाई पक्राउ गरिएको हो,प्रत्येक व्यक्तिबाट पैसा उठाएर ठगी गरेको आरोपमा आठ नौ महिना पहिले उजुरी परेको थियो। त्यसमा हामीले अनुसन्धान गरिरहेका थियौँ अहिले पक्राउ परेकाहरु व्यक्तिहरुको विषयमा थप अनुसन्धान भैरहेको छ’, महाशाखाका प्रमुख एसएसपी मनोज केसीले भने।

प्रहरीका अनुसार करिब १ हजार ६०० युवाहरुलाई झापामा बाँकी रहेका ६ हजार शरणार्थीहरुको नाममा परिचय पत्र र ट्राभल डकुमेन्ट बनाएर बनाएर सिधैं अमेरिका पठाउने योजना अनुसार उनीहरुले काम गरिहरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *