हात्तीमैत्री ‘सामूहिक खेती’

डिसी नेपाल
१४ चैत २०७९ ७:२८

झापा। जंगली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन्। बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन्।

मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६ किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन्।

सो जग्गामा किसानले तरकारी खेती लगाएका छन्। भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फर्सी, लौका, सिमरायोको सागलगायतका सब्जीको बिरुवा हुर्काइरहेका छन्।

किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार खेतीका लागि हरेक सदस्यबाट रु पाँच हजारका दरले बीउ पूँजी संकलन गरिएको छ भने समूहलाई वडा कार्यालयले रु एक लाख ५० हजार अनुदान दिएको छ।

“हात्तीसँग दुश्मनी गरेर होइन, सहअस्तित्वलाई स्वीकार गरेर अब हामी मानव-हात्तीबीच मैत्रीपूर्ण वातावरण बनाउने प्रयासमा लागेका छौँ”, मेचीनगर वडा नं ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले भने, “हात्ती र मान्छेबीच खुनी संघर्ष भएको धेरै वर्ष भइसक्यो। धेरै मानिस र हात्तीले ज्यान गुमाएका छन्। अब दुवैले बाँच्ने वातावरण बनाउन जरुरी छ।”

‘किसानको हात, वडाको साथ’ कार्यक्रमअन्तर्गत वडा कार्यालयले हात्तीमैत्री किसान समूह गठनलाई सामूहिक सब्जी खेतीमा प्रोत्साहित गरेको हो। वडाका विभिन्न टोलमा सामूहिक खेतीलाई विस्तार गर्ने र पालिकाबाट समेत अनुदान दिलाउने अभियानमा जुटिरहेको वडाध्यक्ष कार्की बताउँछन्।

सब्जी खेती गर्न भाडामा लिइएको जग्गा वार्षिक रु ३५ हजार भाडा तिर्ने गरी १० वर्षका लागि लिइएको हात्तीमैत्री किसान समूहका अध्यक्ष आचार्यले बताए। किसानले जग्गा वरिपरि अहिले तरुल रोपेका छन्। बजारमा बिक्ने र हात्तीले भरसक नोक्सानी नगर्ने खालका तरकारी बालीको उत्पादनमा किसानले जोड दिएका छन्।

हात्तीले नष्ट नगर्ने कोदो, तोरी, रहरी दाल, अदुवा, बेसार, पिडालुजस्ता तरकारीको खेतीमा किसान लागेका छन्। सामूहिक खेतीको बालीमा पसेर हात्तीले नष्ट गरिदिएमा सबै सब्जीको क्षतिपूर्ति दिलाउन पालिकाले सहयोग गर्ने वडाध्यक्ष कार्कीले बताए।

“हात्तीको क्षति रोक्न सकिँदैन भन्नेमा हामी लगभग सहमत भइसक्यौँ”, समूहका सदस्य एवं किसान धनपति गौतमले भने, “हात्तीले खाएर नष्ट ग¥यो भने बीमाबाट क्षतिपूर्ति भराउँछौँ। तरकारी बालीको बीमा गर्छौँ। जतिपटक हात्तीले खाएर बिगार गरे पनि हामी नोक्सानीमा पर्दैनौँ।”

नगरपालिका बैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा क्षतिपूर्ति दिलाउन बाली बीमा गरिदिने निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए। मेचीनगरमा यस्तो बाली बीमा कार्यक्रम आगामी आर्थिक वर्षदेखि मात्र लागू हुने बताइएको छ।

कृषि प्राविधिक करण अधिकारीले मानव-द्वन्द्वबाट झापामा सबैभन्दा बढी प्रभावित मानिएको बाहुनडाँगीमा स्थानीय किसानले सुरु गरेको सामूहिक खेती जिल्लाका अरु पालिकाका लागि अनुकरणीय बन्ने बताए। किसानले उत्पादन गरेका सब्जीको बजारीकरणमा समस्या भए स्थानीय सरकारले यसको जिम्मा लिनेसमेत वडाध्यक्ष कार्कीले आश्वासन दिएका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *