मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
काठमाडौं। भन्सार विभाग काठमाडौंका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्व दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेविरुद्ध मुद्दा दायर भएको जानकारी दिएका हुन्।
अवकाश प्राप्त आरोपित घिमिरेविरुद्ध एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरेर करोडौं सम्पत्ति कमाएको आरोप लागेको छ।
यसरी गैरकानुनी रुपमा कमाएको सम्पत्ति श्रीमती र परिवारका अन्य सदस्यको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद र जग्गा खरिदमा लगानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्मको अनुसन्धान जाँच अवधिमा वैधानिक आय भन्दा बढी कमाएको देखिएको हो।
घिमिरेसहित निजको श्रीमती शारदा गौतम, छोरीको पारिश्रमिक आय, कर्मचारी संचय कोषलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल यी सबैको आय पाँच करोड २५ लाख १६ हजार ३२७ रुपियाँ रहेको खुल्न गएको आयोगले जनाएको छ।
कुल वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा दुई करोड १४ लाख ४६ हजार ६५७ रुपियाँ को वैधानिक स्रोतको पुष्टि हुन नसेकोले सार्वजनिक पद धारण गरेको कर्मचारीले अस्वभाविक रकम आर्जन गरेको देखिएको हो।
आरोपितमाथि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम असुल उपर गरी पाउन माग दाबीसहित विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको हो।
उनलाई २०७९ जेठ १४ गते मध्यरात अर्थ मन्त्रालय पुगेर बजेटमा करका दर हेरफेरमा संलग्न भएको आरोप लागेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment