एमालेविरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्ः अध्यक्ष ओली

डिसी नेपाल
२५ चैत २०७९ १९:११

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन्।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे। उनले महिला दिदी–बहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएकोसमेत उल्लेख गरे।

“महिलाहरू हरेक तरबार हो। एमालेका विरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्”, उनले भने, “महिला दिदीबहिनीको योगदान गर्दा पार्टी सुरक्षित भएर जोगिएर फेरि देशको प्रमुख पार्टीको हैसियतमा उभिएको छ।”

एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई महिला दिदी–बहिनीले प्रभावकारी, अनुसाशित र गतिशीलरूपमा अगाडि बढाएको समेत बताए। उनले महिला अगाडि उभिएकाले एमालेलाई कसैले पनि हल्लाउन नसक्ने भनाइ राखे।

“एमाले कसैले किन हल्लाउन सक्दैन, दुर्गाकाली नवदुर्गा भएर हाम्रा महिला दिदीबहिनी अगाडि उभिनुभएको छ”, उनले भने।

अस्तव्यस्त पार्न थालिएको एमालेको सङ्गठनलाई बलियो र खदिलो बनाएर अगाडि बढाइएको भन्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोडिँदै जानुपर्ने भनाइ राखे। नेपालको महिला आन्दोलन जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सफलतापूर्वक अगाडि बढेको उनको धारणा रहेको थियो।

पार्टीमा गुटबन्दी र पक्ष–विपक्ष छैन

अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको स्पष्ट पारे। “एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन। सबै एकजुट रहेका छन्”, उनले भने, “स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस्। स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस्।”

उनले एमालेका जातीय सङ्गठनले जातीय वैमनश्यता नभई राष्ट्रिय एकताका लागि काम गर्नेसमेत बताए। एमालेका हरेक सङ्गठन गतिशील हुने भन्दै अनेमसङ्घले सक्षम महिला नेतृ उत्पादन गर्दै नेपालका महिला दिदी–बहिनीलाई सचेत र सशक्त बनाउनुपर्ने बताए।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भनेको आजको नेपालको जनताको बहुदलीय जनवाद रहेको भनाइ राखे। सामाजिक परिवर्तन गर्नका लागि पार्टीमात्र भएर पुग्दैन भनेर नै सामाजिक सङ्घसङ्गठनको रूपमा विभिन्न जनसङ्गठन स्थापना गरिएको उनको भनाइ छ।

कार्यक्रममा अनेमसङ्घका अध्यक्ष थममाया थापामगरले एमालेको एकल बहुमतको सरकार नबनेसम्म संविधान र कानुनमा व्यवस्था भएका महिलाका अधिकार व्यवहारमा कार्यान्वयन गर्न समस्या आउने बताइन्। उनले अनेमसङ्घले तीन वर्षभित्र आफ्नो भवन बनाउनेसमेत बताइन्। अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *