झलनाथ खनाल भन्छन्- एमालेमा फर्कने होइन, सबै वाम एक गराउने हो

डिसी नेपाल
२६ चैत २०७९ ११:१६

काठमाडौं। नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेमा फर्कने कुनै मनशाय नरहेको बताएका छन्।

उनले आइतबार डिसी नेपालसँगको कुराकानीमा सबै वामपन्थी दललाई एकै ठाउँमा ल्याउन प्रयत्न गरिरहेको बताउँदै आफू वाम एकताको पक्षमा रहेको बताएका हुन्।

सबै कम्युनिष्टबीच एकता गर्दै नेपालमा क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियानमा लागेको बताउँदै उनले एमालेमा फर्कने मनस्थितिमा रहेको भन्ने न्यौपानेको आरोपमा सत्यता नरहेको टिप्पणी गरेका छन्।

शनिबार एकीकृत समाजवादी परित्याग गरेका पार्टीका तेस्रो वरियताका नेता मुकुन्द न्यौपाले पार्टीमा खनाल पक्ष अध्यक्ष माधव नेपालसँग असन्तुष्ट रहेको र उचित अवसर दिए एमालेमा फर्कने तयारीमा रहेको बताएका थिए।

नेता खनालले न्यौपानेको अभिब्यक्तिको खण्डन गर्दै सैद्धान्तिक रुपमा पार्टीमा केही असहमति भएपनि पार्टी छाडेर फर्कने अवस्थामा नरहेको जिकिर गरे।

‘भर्खरै बनेको पार्टी हो। कार्यदिशा र कार्यक्रमको अभाव छ। त्यसैले केही अस्पष्टताहरु छन् तर पार्टी छाड्ने मनस्थितिमा छैन,’ सम्मानित नेता खनालले भने, ‘महाधिवेशन पनि भएको छैन। त्यसैले पार्टीमा केही समस्या छन्। महाधिवेशनबाट वैचारिक रुपमा स्पष्ट कार्यदिशा तय गर्छौं।’

पार्टी निर्माणको चरणमै रहेकाले कतिपय वैचारिक र सांगठनिक समस्या रहेको उनले औंल्याए। उनले पार्टीमा वैचारिक र राजनीतिक अस्पष्टता अझै कायम नभएकाले केही समस्या रहेको स्वीकार गरे। तर, एमालेमा फर्कने आफ्नो कुनै मनशाय नरहेको उनको दाबी छ।

पार्टीमा सैद्धान्तिक र नीतिगत रिक्तता आगामी महाधिवेशनले हल गर्ने खनालको भनाइ छ। उनले आफू सबै वामपन्थीहरुबीच एकताबद्ध हुनुपर्ने अडानमा रहेको बताए।

नेता खनालले भने, ‘नेपालमा कम्य्निष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हाबी भयो। अव क्रानितकारी कार्यदिशा तय गदै पुनर्गठित गर्ने प्रयत्नमा छु। तर कुनै पार्टीमा एकल रुपमा फर्कने योजना छैन।’

एकल रुपमा एमालेमा फर्कने आफ्नो सम्भावना नरहेको बताउँदै पार्टीलाई थप मजबुद बनाएर सबै वाम दलबीच सहकार्य र एकताको वातावरण बनाउने अभियानमा लागेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *