मलिकाका वडावडामा अचार उद्योग
गलेश्वर। म्याग्दीको मालिका गाउँपालिकाका एकल तथा फरक क्षमता भएका महिला वडा–वडामा अचार उद्योग स्थापना गरेर आयआर्जन गर्ने तयारीमा जुटेका छन्। गाउँपालिकाले सातै वडाका महिलालाई एक साताको अचार बनाउने तालिम दिएपछि उनीहरु अचार उत्पादन गर्न लागिपरेका हुन्।
तालिममा सहभागी २५ महिलालाई गाउँपालिकाले प्रतिव्यक्ति रु २६ हजारका दरले अनुदान दिएर अचार उद्योग सञ्चालनका लागि प्रेरित गरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। महिलाले वडा–वडामा उत्पादन गरेको अचार गाउँपालिकाले नै बजारीकरण (बिक्री) गरिदिने उनको भनाइ छ।
गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’अन्तर्गत एकल, फरक क्षमता भएका तथा कोभिड–१९ प्रभावित र हिंसापीडित महिलालाई अचार बनाउने तालिम दिइएको थियो। आत्मनिर्भर बनाउने उद्देश्यले तालिम प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले बताइन्। आगामी आर्थिक वर्षका लागि वडास्तरबाटै सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक योजना बनाएर बजेट विनियोजन गरिने उनको भनाइ छ।
गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायतको प्रयोग गरी अचार बनाउन थालिएको छ। यसबाट आम्दानी गर्न सकिने मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालुले बताइन्। सहर तथा बजारका होटल र रेष्टुरेन्टमा अन्यत्रबाट अचार खरिद गरी ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको विटालु बताउँछिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment