नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छः राष्ट्रपति पौडेल

डिसी नेपाल
२ वैशाख २०८० १८:०५
80
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन्।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्।

नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे।

उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए। उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरे।

राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना–कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गरे। नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो।

नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरु जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु। यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि लिएको छु।’

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरु छानेर नेपालमै ल्याइ यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए।

फाउन्डेसनमार्फत् आफूहरुले संसारभरिका नेपाली जातिबीच सांस्कृतिक एकताको महाभियान सुरु गरेको र सो अभियानलाई राष्ट्रपतिबाट प्राप्त भएको हौसलाले अझ गम्भीर भएर लाग्न मद्दत पुगेको विश्वास लिएको भन्दै अध्यक्ष अधिकारीले संसारभरका नेपालीबीच विभेद नगरी राज्यले सबैलाई समान व्यवहार गर्नुपर्ने बताए।

फाउण्डेशनले आफ्रिका बाहेकका विश्वका छ महादेशका ५२ भन्दा बढी देशबाट मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रममार्फत नेपाली प्रतिभाहरु प्रारम्भिक छनोट गरी काठमाडौँ ल्याएको छ। ती प्रतिभाबीच हाल यहाँ गायन र नृत्यका साइटलेस अडिसन जारी छ।

गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै समूह नृत्य प्रतियोगिता पनि रहेको छ। नेपालमा आयोजना गरिएको यस्तो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *