श्रीपशुपति हिन्दू विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढ्यो
काठमाडौं। सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो।
हिन्दू विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न मन्त्रालद्वारा गठित विश्वविद्यालय सम्भाव्यता अध्ययन समितिले अध्ययनसहितको अवधारणा–पत्र २०७९ आज पर्यटनमन्त्री सुदन किरातीलाई बुझाएको छ।
पर्यटन मन्त्रालयमा आज आयोजित कार्यक्रममा समितिका संयोजक संस्कृतविद् डा जगमान गुरुङले पर्यटनमन्त्रीलाई उक्त अवधारणापत्र हस्तान्तरण गरे।
विश्वविद्यालयको अवधारणापत्र ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले अवधारणालाई शीघ्र कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गरे। उनले भने, “समयभित्रै महत्वपूर्ण प्रतिवेदन तयार भएको छ। यो प्रारम्भिक अवधारणा हो। यसको विस्तृत अध्ययनका लागि मन्त्रालयले समिति गठन गरेर छिट्टै विश्वविद्यालय निर्माण कार्य अघि बढाउछौँ।”
श्रीपशुपतिनाथ हिन्दू विश्वविद्यालय भव्य रुपमा सञ्चालन गर्न सकिने पर्यटनमन्त्री किरातीको भनाइ छ।
गत फागुन १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट हिन्दू विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिले एक महिनाभित्रै प्रतिवेदन तयार गरेको हो।
हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास हुने विश्वास लिइएको छ।
समितिका संयोजक डा गुरुङले नेपाललाई विश्वकै अध्यात्मिक आकर्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको बताए।
अध्ययनका निष्कर्ष के छ?
प्रस्तावित विश्वविद्यालय नेपालको धर्म, दर्शन, सभ्यता र लोकपरम्परा लगायतका नेपालमुखी रैथाने विषयको अध्यापन अनुसन्धानमा केन्द्रित हुँदा यसको स्थापना आवश्यकता औँल्याइएको छ।
न्यासिक परिषद (बोर्ड अफ ट्रष्टिज) बाट सञ्चालन गर्ने लक्ष्य रहेको छ । यसको एउटा आफ्नो महाविद्यालय र अन्य आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठमा यो विस्तारित हुनेछैन।
विश्वविद्यालयमा मूलतः स्नातकोत्तर, एम.फिल. र विद्यावारिधि तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ।
पर्यटन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष संस्थापक भए पनि विश्वविद्यालयको शैक्षिक नीति तथा कार्यक्रम शिक्षा मन्त्रालयको हुनेछ। विश्वविद्यालय अनुदान आयोग र कोषको आर्थिक सहयोग अपरिहार्य रहेको प्रतिवेदनमा उल्लेख छ।
कोषको स्वामित्वमा रहेको गोठाटारमा विश्वविद्यालय स्थापना गर्न सकिने र उक्त शैक्षिक प्रशासनिक पूर्वाधारका लागि कम्तीमा दुई सय रोपनी जग्गा व्यवस्था हुनुपर्ने जनाइएको छ।
विश्वविद्यालयको आवश्यकता, स्वरुप, जग्गा प्राप्ति तथा जनशक्ति र आर्थिक स्रोतको पहिचानजस्ता समस्या रहेको प्रतिवेदनले औँल्याएको छ।







डिसी नेपाल







Facebook Comment