अमेरिकाको दबावले नक्कली शरणार्थी काण्डको तीव्र गतिमा छानबिन भएको रवीन्द्र मिश्रको दाबी

डिसी नेपाल
२८ वैशाख २०८० १४:२०
968
Shares

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली शरणार्थी प्रकरणमा अमेरिकाको दबावमा सरकारले छानबिनमा तदारुकता देखाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सरकारको भ्रष्टाचार विरोधी नीतिको उपज छानबिन प्रक्रियाले तीव्रता नपाएको भन्दै अमेरिकाको दबावको कारणले उच्च तहका नेता पक्राउ परेको दाबी गरेका हुन्।

‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? त्यो हो भने भ्रममा हुनुहुन्छ।’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भिर र धम्किपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाँड पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनै पर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझीका विरूद्ध पक्राउ पुर्जी जारी हुने कल्पनै गर्न सकिँदैन।’

उनले यस प्रकरणमा अमेरिकाको चासोबारे बारे संसदमा माओवादी र कांग्रेसका सांसदहरुले व्यक्त गरेको अभिव्यक्तिको पनि स्मरण गराएका छन्।

मिश्रले लेखेका छन् ,‘कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानविन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबिआइ’ले पनि गरिरहेको छ भनि गरेको टिप्पणीलाई नबिर्सिनु होला।’

केही दिन अघिको संसद बैठकमा कांग्रेस सांसद आरजू राणा र माओवादी सांसद माधव सापकोटाले अमेरिकी निकायले समेत अनुसन्धानमा चासो दिएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *